सोमपाल र रोहित चम्किँदा नेपालको जित

डिसी नेपाल
२२ जेठ २०७९ ८:०२
300
Shares

काठमाडौं। सोमपाल कामी र रोहित पौडेल चम्किएपछि आइसीसी विश्वकप क्रिकेट लिग २ का लागि अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले दोस्रो अभ्यास खेलमा ह्युस्टन हरिकेन्सलाई २९ रनले पराजित गरेको छ।

नेपालले दिएको २५१ रनको लक्ष्य पछ्याएको हरिकेन्सले ४३.३ ओभरमा सबै विकेट गुमाएर २२१ रनमात्र समेटियो । हरिकेन्सका निनाद निम्बलकारले सर्वाधिक ९९ रन बनाए। यस्तै, रमिज राजा जुनियरले २९ र एन्ड्रिस गोअसले २८ रन बनाए।

बलिङमा नेपालका सोमपालले सर्वाधिक पाँच विकेट लिए। यसबाहेक, किशोर महतो र सागर ढकालले समान दुई विकेट लिँदा करण केसीले एक विकेट हात पारे। यसअघि टस जितेर ब्याटिङमा आएको नेपालले ४९.१ ओभरमा सबै विकेट गुमाउनुअघि २५० रनको योगफल तयार गरेको थियो।

नेपालको ब्याटिङमा कप्तानी सम्हालेका रोहितले शतकीय इनिङ खेले । रोहितले ९० बलमा पाँच चौका र चार छक्कासहित एक सय एक रन बनाए। आरिफ सेखले ४१ रन बनाउँदा, देव खनालले १९, दीपेन्द्रसिंह ऐरीले २४, सुनिल धमलाले १३ र करण केसीले १२ रन बनाए।

हरिकेन्सका मोहम्मद इल्यासले सर्वाधिक पाँच विकेट लिए । यस्तै, हर्मित सिंहले दुई र हसन रासिदले एक विकेट लिए। यसअघि पहिलो अभ्यास खेलमा नेपाल अल स्टार्ससँग चार विकेटले पराजित भएको थियो।

नेपालले अमेरिकामा त्रिदेशीय क्रिकेट शृंखला खेल्ने तालिका छ । नेपालले शृंखलाको पहिलो खेलमा २६ जेठमा ओमान, २८ मा अमेरिका, ३१ मा ओमान र १ असारमा अमेरिकाको समना गर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.