अस्मिनाको उत्कृष्ट बलिङ, नेपाललाई एसिया कपमा स्थान बनाउन ८२ को लक्ष्य
काठमाडौं। एसीसी महिला टी २० च्याम्पियनसिपको सेमिफाइनलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाललाई जितका लागि ८२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
शुक्रबार मलेसियाको किनरारा ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले १९ ओभर ५ बलमा सबै विकेट गुमाउदै ८१ रन बनायो।
यूएईका लागि वैष्णवी महेशले सर्वाधिक १६ रन बनाइन् । इशा रोहितले १५ रन, छाया मुघलले १४ रन तथा खुसी शर्मा १२ रनको योगदान गरिन्।
नेपालकी अश्मिना कर्माचार्यले ५ विकेट लिइन् । अन्तिम समय अश्मिना ह्याट्रिक नजिक रहेकी थिइन् । यस्तै इन्दु बर्माले ३ र सीता रानाले २ विकेट हात पारिन् ।
नेपालसामु एसिया कपमा स्थान बनाउने सुनौलो अवसर हुनेछ । प्रतियोगिताको विजेता र उपविजेता एसिया कपका लागि छनोट हुनेछन् ।
नेपाल युएईलाई पराजित गर्दै फाइनल पुग्ने लक्ष्यमा हुनेछ । रुविना क्षेत्रीको कप्तानीमा रहेको नेपालले त्यसका लागि ब्याटिङ, बलिङ र फिल्डिङ मजबुद बनाउन ध्यान दिनुपर्नेछ । नेपाल समूह बी मा चार खेलबाट ६ अंक जोड्दै उपविजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएको थियो ।
यता, युएई प्रतियोगिताको अपराजित यात्रा कायम राख्दै फाइलन पुग्ने लक्ष्यमा छ । जारी प्रतियोगितामा युएई लयमा देखिएको छ । समूह ए मा युएईले चार खेलबाट ७ अंक बनाउँदै शीर्षस्थानमा रहेर नेपालसँगको भेट पक्का गरेको थियो ।
यसअघि नेपालले समूह चरणमा भुटान, कुवेत र बहराइनलाई हराउँदा हङकङसँग पराजित भएको थियो । यस्तै, दोस्रो सेमिफाइनलमा हङकङ र मलेसिया फाइनल प्रवेशका लागि खेल्नेछन् । च्याम्पियनसिपको फाइनल शनिबार हुनेछ । फाइनल पुग्ने दुबै टोली एसिया कपमा छनोट हुनेछन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment