मलेसियामा एनआरटीको अर्को लज्जास्पद हार

डिसी नेपाल
१९ असार २०७९ ७:१८
376
Shares

काठमाडौं। मलेसिया भ्रमणमा रहेको नेपालको सहिद स्मारक ‘ए’ डिभिजन लिग क्लब न्युरोड टिमले (एनआरटी) टुवाङ याङ तेरुत (टिवाइटी) प्रतियोगिताको दोस्रो खेलमा पनि फराकिलो हार बेहोरेको छ।

प्रतियोगिताअन्तर्गत शनिबार भएको दोस्रो खेलमा एनआरटी मलेसियन सुपर लिग क्लब पेनाङ एफसीसँग ५–० ले पराजित भयो । एनआरटीलाई पराजित गरेसँगै पेनाङ ले प्रतियोगिताको उपाधि जितेको छ।

पेनाङ सिटी रंगशालामा पेनाङलाई जित दिलाउन लुकास सिल्भाले चार गोल गरे । यस्तै, अर्को एक गोल सारावानको नाममा रह्यो । लुकासले ४३औं मिनेटमा गरेको गोलबाट पेनाङले अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा सारावानले पेनाङको अग्रता दोब्बर पारे ।

यस्तै, दोस्रो हाफमा लुकासले ह्याट्रिक थपेपछि पेनाङले ५–० को सहज जित निश्चित गरेको थियो । लुकासले ६८औं मिनेटमा दोस्रो, ८०औं मिनेटमा ह्याट्रिक र खेलको इन्जुरी समयमा चौथो गोल गरे ।

यसअघि बिहीबार भएको पहिलो खेलमा एनआरटी इन्डोनेसियाको लिग लु क्लबसँग पनि ५–१ ले पराजित भएको थियो ।

एनआरटी अब उतैबाट थाइल्यान्ड जाने तालिका छ । एनआरटीले थाइल्यान्डमा दुईवटा मैत्रीपूर्ण खेल खेल्नेछ । एनआरटी ‘ए’ डिभिजन लिगको तयारी का लागि प्रि सिजन भ्रमण गएको हो । गत सिजन एनआरटी लिगमा तेस्रो भएको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *