समुद्रबाट अन्न निर्यात गर्न पाउने सम्झौताको केही घण्टामै युक्रेनी बन्दरगाहमा हमला

डिसी नेपाल
७ साउन २०७९ १७:०१
656
Shares

काठमाडौं । अन्न निर्यात गर्न पाउनेबारे किएभ र मस्कोले महत्त्वपूर्ण सम्झौता गरेको एक दिनपछि एक मुख्य युक्रेनी बन्दरगाह सहरमा विस्फोटहरू भएका छन्।

पश्चिमी सहर ओडेसामा शनिवार बिहान दुई वटा क्षेप्यास्त्र प्रहार भएको युक्रेनी सेनाले जनाएको छ।

शुक्रवार भएको सम्झौताको सर्तमा अन्न निर्यातको काम हुँदा बन्दरगाहहरूलाई निशाना नबनाइने भन्ने विषय उल्लेख छ।

महिनौँको द्वन्द्वपछि भएको उक्त सम्झौतालाई संयुक्त राष्ट्रसङ्घले “एउटा आशाको किरण” बताएको थियो।

सामाजिक सञ्जालमा राखिएको एउटा पोस्टमा युक्रेनी सेनाको दक्षिणी कमान्ड केन्द्रले दुई कलिबर क्षेप्यास्त्र बन्दरगाहमा प्रहार भएको र अन्य दुईलाई हवाई प्रतिरक्षा प्रणालीले खसालेको जनाइएको छ।

स्थानीय सांसद अलेक्सी गान्चरेन्कोले टेलिग्राम सामाजिक सञ्जालमा हमलापछि बन्दरगाहमा आगो लागेको लेखेका छन्।

त्यसको क्षति र हताहतको अवस्था अझै प्रस्ट छैन।

ती सांसदले युक्रेनी हवाई रक्षकहरूले अन्य कैयौँ क्षेप्यास्त्रहरू निष्क्रिय पारेको र सहरमाथि लडाकु जेटहरू लडाइँमा संलग्न रहेको बताएका छन्।

“यी बदमासहरू एउटा हातले सम्झौतामा हस्ताक्षर गर्छन् र अर्को हातले क्षेप्यास्त्र प्रहार गर्छन्,” उनले लेखेका छन्।

“त्यसैले हामीलाई लडाकु विमान आवश्यक छ र हामीले रुसको पूरै ब्ल्याक सीको जहाज क्षमता डुबाइदिनुपर्छ। अन्न निर्यातको लागि सबैभन्दा उत्तम व्यवस्था त्यही हुने छ।”

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको कार्यालयका प्रमुखले हमलाको निन्दा गर्दै रुसले “योजनाबद्ध ढङ्गले खाद्य सङ्कट सिर्जना गरिरहेको” आरोप लगाएका छन्।

शुक्रवार किएभ र र मस्कोका अधिकारीहरूले अवरुद्ध भएको दशौँ लाख टन युक्रेनी निर्यात खोल्ने एउटा सम्झौतामा हस्ताक्षर गरेका थिए।

कूटनीतिज्ञहरूका अनुसार सम्झौतामा रुसले अन्न बोकेका पानीजहाज आफ्नो यात्रामा रहेका बेला बन्दरगाहलाई निशाना नबनाउने कुरा छ।

युक्रेनले समेत बारुद बिछ्याइएका जल क्षेत्रमा मालवाहक पानीजहाजलाई मार्गनिर्देश गर्ने कुरा सम्झौतामा रहेको बताइएको छ।

दुई महिना लगाएर गरिएको उक्त सम्झौतामा १२० दिनका लागि कार्यान्वयनमा रहने बताइएको छ।

जसको लागि इस्तानबुलमा एउटा समन्वय र अनुगमन केन्द्र स्थापना गरिएको छ। जसमा संयुक्त राष्ट्रसङ्घ, टर्किस, रुसी र युक्रेनी कर्मचारीहरू रहेका छन्।

दुवै पक्षको सहमतिमा सम्झौतालाई अद्यावधिक गर्न सकिने जनाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *