कुखुरापालन : आपूर्तिकर्ता मोटाउने, किसान दुब्लाउने
पाँचथर। देश बोइलर कुखुरा र कुखुराको अण्डामा आत्मनिर्भर भएको घोषणा गरिएको वर्षैं बित्यो। तर, ती कुखुरा र अण्डा उत्पादन गर्ने किसानका समस्या घोषणा भएनन्। अनि उत्पादन गर्ने किसानहरु सधैं दुब्लाइरहेका छन्। किसानलाई कुखुराका चल्ला, औषधि, दाना आपूर्ति गर्ने बिचौलिया अर्थात आपूर्तिकर्ता भने दिनदिनै मोटाइरहेका छन्।
पाँचथरमा दैनिक करिव १ हजार ५ सय किलोग्राम कुखुराको मासु खपत हुन्छ। यहाँ कुखुराको मासु प्रतिकिलो ४ सय रुपैयाँ छ। दैनिक करिव ४ लाख रुपैयाँको दाना खपत हुन्छ। यो हिसाबमा दैनिक २ लाख रुपैयाँ कुखुरा पाल्ने किसानका हातमा आउनु पर्ने हो। तर, त्यस्तो भएको पाइन्न। किनकि मुनाफाको ठूलो हिस्सा चल्ला, औषधि आपूर्ति गर्दै मासु पनि खरिद गर्ने व्यपारीले लिने गरिरहेका छन्।
पाँचथरको उत्तरी क्षेत्र, तेह्रथुमको आठराई र ताप्लेजुङको केही क्षेत्रमा फिदिमदेखि कुखुराका चल्ला, औषधि र दाना आपूर्ति गरिन्छ। किसानले उत्पादन गरेका कुखुरा चल्ला, औषधि र दाना आपूर्ति गर्ने बिचौलियाले नै खरिद गर्छन्। जसमा उनीहरुको ‘कार्टेलिङ’ रहिरहन्छ। आपूर्तिकर्ताकै मूल्यमा चल्ला, दाना र औषधि खरिद गर्नु पर्ने र उत्पादित मासु पनि उनीहरुको भाउमा बिक्री गर्दा किसानहरु मर्कामा परिरहेको पाइन्छ।
फिदिम-४, थाक्लेमा ६ वर्षदेखि पोल्ट्री व्यवसाय सञ्चालन गर्दै आएका केशव र कमल खनालका अनुसार सरकारबाट कुनै सुविधा नपाएको कारण यो व्यवसाय फस्टाउने अवस्थामा छैन। उनीहरु कुखुरामा क्षति हुँदा पनि राहत नपाउने र सरकारी कुनै निकायबाट पनि सेवा र सुविधा नदिइने भएकोले कुखुरापालन व्यवसायबाट किसानहरु दिनदिनै पलायन हुन थालेका छन्। थाक्लेमा ४ वटा कुखुरा फर्म रहेकोमा अहिले ३ वटामात्र छन्।
पाँचथरको राँके, रवि, लिम्बा, दूर्दिम्बाजस्ता दक्षिणी क्षेत्रमा झापा र मोरङबाट चल्ला र दाना आपूर्ति गरिन्छ। ती क्षेत्रमा भएका साना व्यपारिक केन्द्रका कारण मासुको खपत पनि न्यून छ। त्यहाँका किसान पनि बोइलर पालनबाट दिक्क मान्न थालिरहेको बताउँछन्।
तेह्रथुम बहुप्राविधिक शिक्षालयका बिद्यार्थीले प्रयोगात्मक अभ्यासका लागि बोइलर कुखुरा पालेका छन्। त्यहाँकि विद्यार्थी सीमा राइले भनिन्,–‘व्यवसाय ठीक छ तर उत्पादित मासु किसानले खुला रुपमा बिक्री गर्न पाएमा किसानको हित हुन्छ, होइन भने आपूर्तिकर्ता मोटाउनेमात्र हो।’
चल्ला र दाना आपूर्ति गर्ने व्यवसायीहरु भने आफूहरुले किसानको हितमै काम गर्दै आएको बताउँछन्। एक आपूर्तिकर्ताले भने, ‘चल्ला, औषधि र दाना सबै दिएर उत्पादन भएको मासु खरिद गरिदिएपछि किसानको अहित हुने कुरो नै छैन।’ तर, किसानहरु भने आपूर्तिकर्ताको आवरणमा बिचौलिया बन्दै किसानहरु ठगिनेक्रम यथावत रहेको बताउँछन्। उनीहरु भन्छन्, ‘साहुजीहरु मोटाउँदै गएका छन्, हामी किसान भने कुखुरा पालेर कमाउने भन्दा पनि दुब्लाउने भइरहेका छौं।’
उनीहरुकै सामान र उनीहरु नै मासु खरिद गर्ने भएकोले मनखुसी मूल्य निर्धारण गरिँदा किसानहरु मर्कामा परिरहेको सत्य हो। अनि कुखुराको मासु र अण्डामा देश आत्मनिर्भर भएको भन्दै सरकारले कुखुराबाहेकको क्षेत्रमा लगानी गर्दा कुखुरापालक कृषकहरु कुनै पनि सेवा र सुविधा लिनबाट बञ्चित छन्।
ब्लड फ्लु र त्यस्तै अन्य रोगका कारण खोरभरीका कुखुरा मर्दा पनि किसानले क्षतिपूर्ति पाएका छ्रैनन्। कुखुरा फर्म नै रित्तिँदा पनि कुनै राहत नपाएका कारण दर्जनौं किसान बिस्थापित भइसकेको देखिन्छ। पाँचथरमा मात्र करिव ५ सय किसानले कुखुरा पाल्दै आएको एक आपूर्तिकर्ताले बताए।







डिसी नेपाल








Facebook Comment