‘बाब अल-मन्डेब’ जलमार्ग बन्द गर्ने यमनको धम्की, कच्चा तेल प्रतिब्यारल २०० डलर पुग्ने चेतावनी
काठमाडौं । संयुक्त राज्य अमेरिका र इरानबीच पुनः युद्ध सुरु भएसँगै रणनीतिक रूपमा अत्यन्तै संवेदनशील मानिने ‘स्ट्रेट अफ हर्मुज’ मा जहाजहरूको आवतजावत ठप्प प्रायः भएको छ। अधिकांश व्यापारिक जहाजहरू रातको अँध्यारोमा वा अत्यन्तै गोप्य तरिकाले यात्रा गरिरहेका छन्, तर यसो गर्दा पनि जलमार्गले आफ्नो पूर्ण क्षमताअनुसार सेवा दिन सकिरहेको छैन।
यस बढ्दो सैन्य तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेर प्रतिब्यारल ८५ डलरको हाराहारीमा पुगिसकेको छ। अर्कातर्फ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सो जलमार्ग भएर आवतजावत गर्ने जहाजहरूबाट सुरक्षाबापत २० प्रतिशत कर असुल गर्ने बताएपछि यो तनाव अझ गहिरिएको छ, जसले गर्दा तेलको मूल्यमा अझै भारी वृद्धि हुने सम्भावना बढेको छ।
यसैबीच, अमेरिकी नाकाबन्दी र हवाई आक्रमणको प्रतिरोध गरिरहेको यमनले हर्मुज जस्तै अर्को महत्त्वपूर्ण समुद्री मार्ग बन्द गरिदिने चेतावनी दिएको छ। यमनको यो धम्की कार्यान्वयनमा आएमा कच्चा तेलको मूल्य प्रतिब्यारल २०० डलरसम्म पुग्ने र त्यसले विश्वव्यापी रूपमा महँगीलाई ऐतिहासिक रेकर्ड स्तरमा पुर्याउनुका साथै विश्वभरका सेयर बजारमा ठूलो मन्दी ल्याउने आकलन गरिएको छ।
विश्वव्यापी ऊर्जा आपूर्ति र समुद्री व्यापारमाथिको ठूलो चिन्ताका बीच यमनले रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने ‘बाब अल-मन्डेब’ जलडमरूमध्य बन्द गर्ने धम्की दिएको हो। हर्मुज जस्तै यो जलमार्ग पनि विश्वकै एक प्रमुख चोकपोइन्ट हो, जसले लाल सागरलाई अदनको खाडी र हिन्द महासागरसँग जोड्ने गर्दछ।
यो मार्ग बन्द भएमा विश्वव्यापी ढुवानी प्रणाली नराम्ररी प्रभावित हुनेछ र नेपाल तथा भारतलगायतका एसियाली मुलुकहरूको व्यापारिक मार्गमा गम्भीर असर पर्नेछ।
यमनको ‘अन्सारुल्लाह आन्दोलन’ को राजनीतिक ब्युरोका सदस्य मोहम्मद अल-फराहले साउदी अरबले यमनको पूर्वाधारलाई निशाना बनाउन जारी राखेमा बाब अल-मन्डेब र होर्मुज दुवै जलडमरूमध्ये बन्द गरिने चेतावनी दिएका छन् ।
‘प्रेस टिभी’ सँग कुरा गर्दै अल-फराहले यदि वर्तमान परिस्थिति थप बिग्रेमा एक कार्यकारी गठबन्धनअन्तर्गत दुवै जलमार्ग बन्द गरिने र त्यसपछि तेलको मूल्य बढेर प्रतिब्यारल २०० डलर पुग्ने बताए, जुन विश्व अर्थतन्त्रका लागि एक भयानक धक्का हुनेछ।
अरब प्रायद्वीप र अफ्रिकाको ‘हर्न अफ अफ्रिका’ बीच अवस्थित यो जलमार्ग स्वेज नहरको दक्षिणी प्रवेशद्वारका रूपमा समेत चिनिन्छ। यस मार्गले विश्वको कुल समुद्री व्यापारको करिब १० देखि १२ प्रतिशत हिस्सा ओगट्नुका साथै विश्वव्यापी ऊर्जा ढुवानीको ठूलो अंश धान्दै आएको छ।
हर्मुज जलडमरूमध्ये जस्तै दक्षिण एसियाली मुलुकहरू र विशेष गरी भारत कच्चा तेल तथा एलएनजी (तरलीकृत प्राकृतिक ग्यास) आयातका लागि पश्चिम एसिया र उत्तरी अफ्रिकाका केही भागहरूमा निर्भर रहेका छन्।
आयातका साथै निर्यातका लागि पनि यो मार्ग उत्तिकै महत्त्वपूर्ण छ; किनकि भारतीय सरकारी तथा निजी रिफाइनरीहरूले नियमित रूपमा यसै जलमार्ग हुँदै युरोपेली ग्राहकहरूलाई प्रशोधित पेट्रोलियम उत्पादनहरू पठाउने गर्दछन्।
भारतको कुल व्यापारको करिब ९५ प्रतिशत हिस्सा समुद्री मार्गबाट हुने हुनाले युरोप, उत्तर अमेरिका र उत्तरी अफ्रिकामा निर्यातका लागि बाब अल-मन्डेब एक महत्त्वपूर्ण प्रवेशद्वार हो।
स्वेज नहर र बाब अल-मन्डेब जलमार्गले मिलेर भारतको कुल वैदेशिक व्यापारको करिब ३५ प्रतिशत हिस्सा सुगम बनाउँदै आएका छन्, जसमा कपडा, तयारी पोशाक, औषधि, मेसिनरी र बासमती चामल जस्ता प्रमुख सामग्रीहरू पर्दछन्।
युरोपमा निर्यात हुने भारतीय सामानको करिब ८० प्रतिशत हिस्सा यसै लाल सागर क्षेत्र भएर गुज्रिने भएकाले यो सम्भावित नाकाबन्दी समग्र एसियाली र युरोपेली अर्थतन्त्रका लागि ठूलो चिन्ताको विषय बनेको छ।






डिसी नेपाल





Facebook Comment