४० प्रतिशत उम्मेदवारले मात्र चुनाव खर्चको विवरण बुझाए

डिसी नेपाल
१३ साउन २०७९ ११:१९
92
Shares

म्याग्दी। म्याग्दीमा ४० प्रतिशत स्थानीय तह निर्वाचनका उम्मेदवारले मात्र चुनाव खर्च विवरण बुझाएका छन्। गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा उम्मे्दवार बनेका सात सय १८ जनामध्ये दुई सय ८६ ले मात्र खर्च विवरण बुझाएका छन्।

जिल्ला निर्वाचन कार्यालय निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले अझै ६० प्रतिशत उम्मेदवारले चुनावको खर्च विवरण बुझाउन बाँकी रहेको बताए। “निर्वाचनको अन्तिम परिणाम घोषणा भएको ३० दिनभित्र निर्वाचन कार्यालयमा खर्च विवरण बुझाउनुपर्ने कानुनी व्यवस्था छ”, उनले भने, “सार्वजनिक सूचना, स्थानीय तह, मौखिकरुपमा र सम्बद्ध राजनीतिक दलहरुमार्फत विवरण बुझाउन ताकेता गरेका छौँ ।”

निर्वाचित भएका अधिकांशले विवरण बुझाए पनि पराजित उम्मेदवारले खर्च विवरण बुझाउन रुचि देखाएका छैनन्। अन्नपूर्ण गाउँपालिकाका ६७, धौलागिरि गाउँपालिकाका ४६, बेनी नगरपालिकाका ७६, मङ्गला गाउँपालिकाका २४, मालिका गाउँपालिकाका ४६ र रघुगङ्गा गाउँपालिकाका २४ उम्मेदवारले खर्च विवरण बुझाएका छन्।

सबैभन्दा बढी अन्नपूर्ण गाउँपालिका र कम रघुगङ्गा गाउँपालिकाका उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाएका छन्। जिल्ला समन्वय समितिका नौ जना र कार्यपालिका सदस्य निर्वाचनका ६ उम्मेदवारले पनि खर्च विवरण बुझाएका छन्। अन्नपूर्णमा ९८, धौलागिरिमा ८४, बेनीमा एक सय ५६, मङ्गलामा ९८, मालिकामा एक सय ४७ र रघुगङ्गामा एक सय ३५ उम्मेदवार थिए । निर्वाचन आयोगले असार मसान्तभित्र विवरण पठाउन निर्देशन दिएको थियो। बुझाएका विवरण आयोगको सफ्टवेयरमा भरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

नगरप्रमुख, उपप्रमुख पदका उम्मेदवारले रु चार लाख ५० हजार, वडाध्यक्षले रु दुई लाख, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष उम्मेदवारले रु तीन लाख ५० हजार र अन्यले रु एक लाख ५० हजारसम्म खर्च गर्न पाउने आयोगले व्यवस्था गरेको थियो। स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ को उपदफा (२), स्थानीय तह निर्वाचन नियमावली, २०७३ को नियम ४० तथा आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिताबमोजिम उम्मेदवारले खर्च विवरण बुझाउनुपर्ने हुन्छ।

यसैबीच एक महिनाको अवधिमा म्याग्दीमा एक हजार दुई सय ९७ जनाले मतदाता नामावली दर्ता गरेका छन्। जिल्ला निर्वाचन र प्रशासन कार्यालयमा सात सय १४ पुरुष र पाँच ८३ महिलाले मतदाता नामावली दर्ता गराएका निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर सन्देश थापाले जानकारी दिए।

अन्य जिल्लाका ३८ र एक हजार दुई सय ५९ म्याग्दीकाले तस्बिरसहितको नामावली दर्ता गराएका हुन्। आयोगले गत असार १ गतेदेखि मतदाता नामावली दर्ता खुला गरेको थियो। छ वटा पालिका र ४५ वडा रहेको म्याग्दीमा स्थानीय तह निर्वाचनमा ४१ हजार चार सय १४ पुरुष, ४३ हजार नौ सय ६० महिला र एक तेस्रो लिङ्गी गरी कूल ८५ हजार तीन सय ७५ मतदाता थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.