कसले हाँक्ला अलकायदाको भावी नेतृत्व ? यस्ता छन् जवाहिरीका सम्भावित उत्तराधिकारी

डिसी नेपाल
१७ साउन २०७९ १४:२८
368
Shares

कायरो। अतिवादी समूह अलकायदाको नयाँ प्रमुखमा सेफ अल–अदेल चयन हुन सक्ने अनुमान गरिएको छ। अल कायदाका नेता आयमान अल जवाहिरीको हत्यापछि उनको उत्तराधिकारीमा अदेलको सम्भावना बढेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। जवाहिरी अमेरिकी ड्राेन हमलामा अफगानिस्तानको राजधानी काबुलमा मारिएका थिए।

मिडल इस्ट इन्स्टिच्युटका अनुसार सेफ अल-अदेले अलकायदाको नेतृत्व हाँक्ने सम्भावना छ। अमेरिकी गुप्तचर एजेन्सीहरूका अनुसार इजिप्टका पूर्वसैन्य अधिकारी अदेल अल कायदाका संस्थापक सदस्यसमेत हुन्। सन् १९८० को दशकमा उनी पूर्वअतिवादी समूह मक्ताब अल-खिदमतमा संलग्न थिए।

उनले सो अवधिमा बिन लादेन र अयमान अल-जवाहिरीलाई भेटे र उनीहरूको समूह इजिप्टियन इस्लामिक जिहाद (ईआईजे) मा सामेल भएका थिए। उनले सन् १९८० को दशकमा अफगानिस्तानमा रुसी सेनासँग पनि लडेका थिए।

अदेल कुनै समय ओसामा बिन लादेनका सुरक्षा प्रमुख पनि थिए। उनी सन् २००१ देखि एफबीआईको मोस्ट वान्टेड सूचीमा छन्। अमेरिकाले उनको बारेमा जानकारी दिनेलाई १० मिलियन डलर पुरस्कार घोषणा गरेको छ।

जवाहिरी अफगानिस्तानको राजधानी काबुलमा अमेरिकी सेनाको हवाई हमलामा मारिएका थिए। अमेरिकी कारबाहीमा जवाहिरी मारिएको अमेरिकी राष्ट्रपति जो बाइडेनले पुष्टि गरेका छन्।

इजिप्टका नागरिक जवाहिरी संसारको सबैभन्दा कुख्यात आतंकवादीमध्ये एक थिए। उनी अमेरिका मा सेप्टेम्बर ११ को हमलाका मास्टरमाइन्ड रहेको अमेरिकाले दाबी गर्दै आएको थियो। सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकी ट्वीन टावरमा भएका आत्मघाती हमलामा करिब ३ हजार जनाको ज्यान गएको थियो।

सन् २०११ मा पाकिस्तानमा ओसामा बिन लादेन मारिएपछि उनी फरार थिए। त्यसपछि उनले अलकायदा समूहलाई हाँकेका थिए। अमेरिकाले उनको टाउकोको मूल्य २५ मिलियन डलर इनाम तोकेको थियो।

यसैबीच, जवाहिरीको हत्याको अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले स्वागत गरेका छन् । दोषीलाई न्याय मिलेको ओबामाले टिप्पणी गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *