अल जवाहिरी मारिएपछि अमेरिकालाई अर्को डर, नागरिकका लागि चेतावनी जारी

डिसी नेपाल
१८ साउन २०७९ १२:२७

काठमाडौं । अल–कायदाका नेता अयमान अल–जवाहिरीको मृत्युपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई सम्भावित आक्रमणबाट सतर्क रहन आग्रह गरेको छ । अमेरिकी विदेश मन्त्रालयले अल-जवाहिरीको मृत्युपछि अल-कायदा वा सम्बद्ध आतंकवादी संगठनहरूले अमेरिकी कार्यालय र कर्मचारीहरूलाई निशाना बनाउन सक्ने भन्दै विश्वभरका आफ्ना नागरिकहरूलाई चेतावनी दिएको छ।

अफगानिस्तानको राजधानी काबुलमा आइतबार अमेरिकी ड्रोन हमलामा अल जवाहिरीको मृत्यु भएको थियो । अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार अल जवाहिरीको मृत्यु भएको पुष्टि गरेका छन् । बाइडेनले भने, “जवाहिरीको हात अमेरिकी नागरिकहरू विरुद्धको हत्या र हिंसाको रगतले लतपतिएको थियो। अब जनताले न्याय पाएका छन् र यो आतंकवादी नेता अब जीवित छैनन्।”

अमेरिकी विदेश मन्त्रालयले नागरिकलाई ट्राभल एडभाइजरी हेरेर मात्रै विदेश जाने योजना बनाउन आग्रह गरेको छ । अमेरिकी विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “अहिलेसम्म प्राप्त जानकारी अनुसार आतंकवादी सङ्गठनहरूले विश्वका विभिन्न भागमा अमेरिकाविरुद्ध हमला गर्ने योजना बनाएका छन्।” ओसामा बिन लादेन मारिएपछि ७१ वर्षीय अल-जवाहिरीले सन् २०११ मा अलकायदाको नेतृत्व लिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *