धितोपत्र बोर्डका अध्यक्ष हमालले भने-‘स्वच्छ र पारदर्शी रूपमा बुक बिल्डिङको प्रक्रिया अगाडि बढ्छ’

डिसी नेपाल
१९ साउन २०७९ २३:१६

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले लगानीकर्ताको हित र सुरक्षा बोर्डको मुख्य प्राथमिकता रहेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) ले आज यहाँ आयोजना गरेको ‘पूँजी बजारको वर्तमान अवस्था र आगामी पाँच वर्षको सम्भावना’ विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष हमालले बोर्डले धितोपत्र बजारमा रहेका समस्या समाधान गर्दै लगानीकर्ताको लगानी सुरक्षा गर्नुपर्ने बताएका हुन् ।

धितोपत्र बजारमा लगानीका अन्य उपकरणको कारोबार सहज बनाइने उल्लेख गर्दै उनले बजारमा रियल सेक्टरलाई यसै वर्षबाट पूँजी बजारमा भित्र्याइने जानकारी दिए ।

अध्यक्ष हमालले स्वच्छ, पारदर्शी र निष्पक्षरूपमा बुक बिल्डिङको प्रक्रिया अगाडि बढ्ने बताएका छन् । यसअघिका कमीकमजोरी नदोहोरिने र बुक बिल्डिङलाई सेफ ल्याण्डिङ गराउने उनको भनाइ थियो । प्रविधिको उच्चतम प्रयोग गर्दै धितोपत्र बजारलाई थप मजबुद बनाउन बोर्ड लागि पर्ने उनले बताए ।

नेपाल स्टक एक्सचेञ्जका प्रबन्धक नीरञ्जन फुँयालले पूँजी बजारलाई सययअनुसार थप व्यवस्थित बनाउँदै लानुपर्ने आवश्यकता रहेको बताए । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले पूँजी बजारको विकासले अर्थतन्त्रमा पूँजी निर्माणमा महत्वपूर्ण योगदान गर्ने चर्चा गर्दै उत्पादनमा यसलाई जोड्नुपर्ने बताए । पूँजीको सही व्यवस्थापन गर्न सक्ने साक्षर लगानीकर्ताको पूँजी बजारमा संलग्नता हुन सके मात्र धितोपत्र बजारको विकास दिगो हुने उनको भनाइ थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *