म्याग्दीमा बाँसको व्यावसायिक खेती

डिसी नेपाल
२९ साउन २०७९ १४:४१
116
Shares

गलेश्वर।म्याग्दीमा बहुउपयोगी बाँसको व्यावसायिक खेती गर्नेक्रम बढ्दै गएको छ । समाजमा मर्दापर्दासमेत आवश्यकपर्ने बाँस नेपाली समाजको अभिन्न अङ्ग जस्तै बनेको छ ।जिल्लामा फस्टाएको बाँसखेतीबाट किसानको आयआर्जन वृद्धि गरी जीवनस्तर उकास्नसमेत मद्दत गरेको छ । मानव जीवनको जन्मदेखि मृत्युसम्मका विभिन्न काममा आवश्यक पर्ने बाँसलाई पवित्र सामग्रीका रुपमा लिने गरिन्छ ।

बाँसबाट डोको, डालो, नाङ्लो, थुन्से, भकारी, मान्द्रो र सोली जस्ता सामग्री बनाउने गरिन्छ । बाँसबाट बनेका यस्ता सामानको घरायसी प्रयोजनका लागि दैनिकरुपमा प्रयोग गरिँदै आएको छ ।

पछिल्लो समयमा सहरबजार क्षेत्रका घर तथा भवनको निर्माणमा समेत बाँसको प्रयोग हुन थालेपछि यसले बजार पाउन थालेको छ । म्याग्दीमा खोला किनार र खेतबारीका कान्ला र डिलमा व्यवस्थितरुपमा बाँसको खेती गर्न थालिएको छ । अहिले बाँस खेतीले व्यावसायिक रुप लिएको छ ।

नेपालका तराईदेखि मध्य पहाडसम्म प्राकृतिकरूपमै बाँस सप्रन्छ । यो वनस्पतिका एक हजार ४०० प्रजाति रहेका वन पैदावर तथा वनस्पतिका जानकार जीवनप्रसाद राईले बताए । विश्वमा ५०० प्रजातिका बाँसको व्यावसायिक खेती गरिएको पाइन्छ ।

बाँस कम लगानीमा हुर्काउन सकिने र चाँडो बढ्ने वनस्पतिमा पर्छ । सिँचाइ नहुने र बाँदर लाग्ने ठाउँमा पनि गोडमेल नगरेरै बाँस सप्रिन्छ । अन्न फल्न मुश्किल पर्ने जमिनमा पनि बाँसको व्यावसायिक खेती गर्न सकिने राईले बताए । बेनी नगरपालिकासहित छवटै स्थानीय तहमा बाँसखेती सप्रिएको छ। बाँसका आधा दर्जन जातमध्ये भालुबास, तामेबास र मलबास निकै फस्टाएको डिभिजन वन कार्यालयले जनाएको छ ।

यहाँ उत्पादन भएका बाँस सदरमुकाम बेनीलगायतका ठाउँमा बिक्रीवितरणका लागि व्यापारीले लैजाने गरेका छन् । एउटा बाँसको मूल्य रु एक सयदेखि रु तीन ससयसम्म पर्दछ ।म्याग्दीबाट हरेक वर्ष २४ हजार टन बाँस बिक्री हुने गरेको तथ्याङ्क छ । बाँसबाट निर्माण भएका नाङ्ग्ला, डाला, मान्द्रालगायतका सामान विभिन्न स्थानमा बिक्रीवितरण गर्न पुर्याइने गरिएको छ ।

ज्यामरुककोट, अर्मन, बाबियाचौर, मालिकालगायत स्थानमा व्यावसायिक बासको खेती सुरु गरिएपछि स्थानीय किसानको आयआर्जनमा वृद्धि हुन थालको छ । सहरीकरणको विकाससँगै घर तथा भवनको निर्माणमा तीव्रता आएपछि बाँसको खपत बढेर गएको छ ।

बाँसका घरायसी तथा आधुनिक सामान निर्माण गर्नका लागि जिल्लाको ग्रामीण बस्तीमा साना तथा घरेलु उद्योगसमेत सञ्चालन भएका छन् । बाँसबाट हस्तकलाका आकर्षक डोको, डालो, नाङ्लो, पाथी, खोगी, पेरिङ्गो, थुन्से, मान्द्रो, खेलौना, आलमारी, ह्याङ्गर, टेबुल–कुर्सी, सोफालगायत फर्निचर बनाएर आय बढाउन सकिने डिभिजन वन कार्यालयका प्रमुख चन्द्रमणि सापकोटाले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *