पहिरो हटाएपछि बीपी राजमार्ग दुईतर्फी सञ्चालनमा
काभ्रेपलाञ्चोक । वर्षाका कारण काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ पिन्थली र नार्के क्षेत्रमा लेदोसहितको पहिरो खसेर अवरुद्ध भएको बीपी राजमार्ग पुनः दुईतर्फी सञ्चालनमा आएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन विष्टका अनुसार सडकमा खसेको लेदो र पहिरो हटाएपछि बिहान ८ बजेदेखि राजमार्गमा दुवैतर्फ सवारीसाधन सञ्चालनमा आएका हुन्।
बिहान करिब ४ बजे माथिबाट लेदोसहितको पहिरो खसेपछि पिन्थली र नार्के क्षेत्रमा बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको थियो। पहिरोका कारण केही समय उक्त सडकखण्डमा सवारीसाधनको आवतजावत पूर्ण रूपमा ठप्प भएको थियो।
पहिरो हटाएर सडक सञ्चालनमा ल्याइए पनि वर्षा भइरहेकाले थप पहिरो तथा लेदो खस्न सक्ने जोखिम रहेको प्रहरीले जनाएको छ। बीपी राजमार्ग हुँदै यात्रा गर्ने यात्रु तथा सवारी चालकलाई सडकको अवस्था बुझेर सावधानीपूर्वक यात्रा गर्न आग्रह गरिएको छ।
प्रहरीले वर्षाका कारण सडकमा समस्या आउन सक्ने भएकाले अनावश्यक जोखिम नलिन तथा यात्रा गर्दा विशेष सतर्कता अपनाउन समेत आग्रह गरेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment