तीन वर्षमा ९ अर्बको हातहतियार आयात

डिसी नेपाल
१ भदौ २०७९ १२:१६

काठमाडौं। नेपालमा पछिल्लो तीन वर्षमा करिव ९ अर्ब रुपैयाँको विभिन्न हातहतियार भित्रिएको छ। आर्थिक वर्ष २०७६/७७ देखि २०७८/७९ सम्मको तीन वर्षको अवधिमा ती हातहतियार नेपाल भित्रिएका हुन्।

भन्सार विभागका अनुसार २०७६ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा विभिन्न देशबाट नेपालले ८ अर्ब ९३ करोड ४३ लाख ९६ हजार रुपैयाँको हातहतियार खरिद गरेको देखिन्छ।

गत आर्थिक वर्ष २०७८/७९ मा १ अर्ब ९८ करोड १७ लाख ७८ हजार रुपैयाँको हातहतियार नेपाल भित्रिएको विभागको तथ्याङ्कले देखाउँछ। आर्थिक वर्ष २०७६/७७ मा २ अर्ब ३७ करोड ३८ लाख २८ हजार रुपैयाँ र २०७७/७८ मा ४ अर्ब ५७ करोड ८७ लाख ९० हजार रुपैयाँको हातहतियार नेपालले आयात गरेको छ।

गत आर्थिक वर्ष २०७८/७९ मा ५८ करोड ९४ लाख ३४ हजार रुपैयाँको ३६ लाख ७४ हजार ८२ थान बम, ग्रिनेड्स, माइन्स, मिसाइल नेपालले आयात गरेको थियो । आर्टिलरी विपन्स, पेस्तोल, सर्टगन, ग्यास गन लगायतका हातहतियार नेपाल भित्रिएको विभागले जनाएको छ।

नेपालमा हातहतियारहरु अमेरिका, दक्षिण कोरिया, सुडान, इटाली, भारत, चीन, जर्मनी, फ्रान्स लगायतका देशबाट आउने गरेको छ। गत आर्थिक वर्षमा मात्र नेपालले दक्षिण कोरियाबाट १ अर्ब २१ करोड ७० लाख रुपैयाँको विभिन्न हातहतियार आयात गरेको छ। सोही समयमा चीनबाट ५६ करोड ७७ लाख ४९ हजार रुपैयाँ र भारतबाट ८ करोड ९४ लाख ९३ हजार रुपैयाँको हातहतियार नेपाल भित्रिएको छ।

आर्थिक वर्ष २०७७/७८ मा मात्र दक्षिण कोरियाबाट नेपालले ३ अर्ब ९६ करोड ६ लाख ६० हजार रुपैयाँको हातहतियार आयात गरेको विभागको तथ्याङ्कले देखाउँछ। यस्तै, आर्थिक वर्ष २०७६/७७ मा दक्षिण कोरियाबाट नै १ अर्ब ४० करोड ४६ लाख ८० हजार रुपैयाँको विभिन्न हातहतियार नेपालले आयात गरेको थियो।

पछिल्लो तीन वर्षमा नेपालले सबैभन्दा बढी हातहतियार दक्षिण कोरियाबाट खरिद गरेको देखिन्छ। उक्त अवधिमा नेपालले दक्षिण कोरियाबाट ६ अर्ब ५८ करोड २३ लाख ४० हजार रुपैयाँको हातहतियार आयात गरेको छ । दक्षिण कोरियापछि चीन र भारतबाट नेपालमा ठूलो मात्रामा हातहतियार आउने गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *