भोजपुरका किसानको रोजाइँमा सतुवा खेती

डिसी नेपाल
३ भदौ २०७९ १३:२२
336
Shares

भोजपुर। बहुउयोगी मानिने जडीबुटी सतुवा खेती भोजपुरका किसानको रोजाइँमा परेको छ। शक्तिबर्द्धक जडीबुटी मानिने सतुवा खेतीप्रति यहाँका किसान आकर्षित बनेका हुन्।

सतुवाको खेतीमा यहाँका तीन सय बढी किसान आबद्ध छन्। पछिल्लो मूल्यमा केही गिरावट आए पनि किसानमा यसको खेतीप्रतिको आकर्षण उस्तै रहेको छ। एक हजार चार सय मिटर उचाइभन्दा माथि पाइने यो जडीबुटी धेरै रोगको लागि उपयोगी मानिन्छ। सतुवा यार्सागुम्बाजस्तै शक्तिबद्र्धक हुने व्यवसायीले बताउने गरेका छन्।

केही वर्ष अगाडिसम्म प्रतिकेजी रु १८ देखि २० सम्ममा बिक्री भएको भए पनि पछिल्लो समयमा मूल्यमा केही गिरावट आएको किसान बताउँछन्। अहिले पनि प्रतिकेजी पाँचदेखि सात हजारसम्म बिक्री हुने षडानन्द नगरपालिका १० तीनतलेका कृषक पेमदोर्ची शेर्पाले बताए। “सतुवा खेती आम्दानीको राम्रो स्रोतको रुपमा स्थापित भएको छ”, उनले भने, “विगतमा मूल्य धेरै राम्रो थियो । अहिले मूल्यमा केही कमी आएको छ तर किसानको यसप्रतिको आकर्षण घटेको छैन।”

केही वर्ष अघिसम्म यस क्षेत्रका किसानले एक पटकमा १० मनसम्म सङ्कलन गरेर बिक्री गरेको किसान शेर्पाले बताए। यहाँका सबै ३७ घरपरिवारले सतुवाको खेती गरिरहेको उहाँले जानकारी दिए । उनले आफ्नो पाँच रोपनी क्षेत्रमा सतुवाको व्यावसायिक खेती गरिरहेको बताए। उनले भने, “मैले पाँच रोपनी क्षेत्रमा खेती गरिरहेको छु। मेरो फर्ममा अहिले करिब दुई मनको हारहारीमा उत्पादन भएको छ। यसलाई एक मुष्ट बिक्री गर्ने हो भने पाँचदेखि छ लाखसम्म आम्दानी हुन्छ।”

घाँटी दुखेको, सर्पले टोकेको र मानिसले विषसेवन गरेको बेलामा प्रयोग गर्न सकिने बहुउपयोगी जडीबुटी रहेको किसान बताउँछन्।

त्यस्तै यसलाई क्यान्सर, ग्याष्टिक, पेट दुख्ने, पोलेको, काटेको घाउ, पाकेको घाउ, बान्ता वा पखालालगायत रोगका लागि उपयोगी हुने किसानको भनाइ छ। प्रायः एउटा बोटबाट एउटामा मात्र डाँठ निस्कने भए पनि फस्टाएको बोटले १६ वटासम्म डाँठ हानेको यहाँस्थित तिम्माका किसान मानबहादुर राईले बताए। उनले भने, “मैले यसको १० वर्षबाट व्यावसायिक खेती गरिरहेको छु। खासमा धेरै ठाउँमा प्रायः एकदेखि दुई वटासम्म डाँठ आएको हुन्छ तर मेरो फर्ममा लगाएको सुतवामा १६ सम्ममा डाँठ पलाएको छ। मैले दुई सय ग्रामसम्मको सुकेको सुतवा फलाएको छु। सायदै यस्तो ठूलो सुतवा कम फलेको पाइन्छ।”

राम्रो ढङ्गले खेती गर्नसके थोरै जमिनबाट पनि राम्रो आम्दानी लिन सकिने किसान खड्गबहादुर राउतको भनाइ छ। आफूले दुई रोपनी क्षेत्रमा खेती गरिरहेको भए पनि सतुवाको गाँनो, बिरुवाबाट बिक्री गरेर वार्षिक पाँचदेखि छ लाखसम्म आम्दानी लिने गरेको किसान राउतले जानकारी दिए। उनले भने, “सतुवालाई राम्रो ढङ्गले स्याहार गरेर खेती गर्नसके जमिन पनि खास धेरै चाहिँदैन। थोरै जमिन भए पनि आम्दानी राम्रो हुन्छ।” तर पछिल्लो समय सतुवामा ढुसी लाग्नेलगायतको रोग देखिन थालेको किसान राउतको भनाइ छ। गानोमा समस्या नभए पनि बोट भने ढुसीले मर्ने गरेको उनको भनाइ छ।

बिरुवा उम्रिएको दुईदेखि तीन वर्षमा सतुवा फुल्छ । फुलेर दाना झरेपछि एउटै बोटबाट ५० देखि सयसम्म बिरुवा उत्पादन हुने किसानको भनाइ छ। यसको जमिनमुनिको गानो अदुवाजस्तै देखिन्छ। सबै पात सुरिलो डाँठको माथिल्लो भागबाट पलाएका हुन्छन्। यसको डाँठलाई तरकारीको रुपमा खादा मिठो हुने किसानको भनाइ छ।

सतुवा विशेष गरेर सेपिलो भागमा फस्टाउँछ। यसको खेतीका लागि चिस्यान, ओसिलो र मलिलो माटो तथा उत्तर–पश्चिम फर्किएको भूगोलमा उपयुक्त हुने किसानले बताउने गरेका छन्। सतुवा विशेष गरेर बिक्रीका लागि भारत र चीन जाने व्यवसायी बताउँछन्। सरकारले बजारीकरणमा ध्यान दिए सतुवा खेतीबाट राम्रो आम्दानी लिन सकिने कृषक गुणराज राउतले बताए।

उनले भने, “सतुवा खेतीबाट राम्रो आम्दानी लिन सकिन्छ। यसको बजार मूल्य अन्य जडीबुटीको तुलनामा राम्रो छ तर पछिल्लो समयमा आएर मूल्यमा केही गिरावट आएको छ। त्यही पनि अन्य बालीको तुलनामा बिरुवा तथा गानाको मूल्य धेरै राम्रो छ।”

त्यस्तै टेम्केमैयुङ गाउँपालिका–५ मझौलेका स्थानीय कृषक एकराज विष्टले पनि व्यावसायिकरुपमा सतुवाको खेती गरी रहेको बताए। किसान विष्टले करिब दुई रोपनी क्षेत्रमा खेती विस्तार गरेको जानकारी दिए। सुतवाबाट राम्रो आम्दानी लिन सकिने उनको भनाइ छ। “हाम्रो क्षेत्रमा सतुवा खेतीमा धैरै साथीहरु आबद्ध छन्”, उनले भने, “विगतका वर्षको तुलनमा मूल्यमा भने गिरावट आएको छ । खेतीमा हामी किसान उत्साहित भएर लागेका छौँ । मूल्य सुधार होला भन्ने आशा छ।”

सुतवा टेम्केमैयुङ गाउँपालिकाको वडा नं १ तिम्मा र वडा नं ५ को माथिल्लो भेग, भोजपुर नगरपालिका–२ हेलौछा, षडानन्द नगरपालिका– ९ किमालुङ, वडा नं–१० साम्पाङ, वडा नं १३ बोयाको माथिल्लो भेग र आमचोक गाउँपालिका–४ र साल्पासिलिछो गाउँपालिका–४ खाटम्मालगायतमा तीन सय बढी कृषकले व्यावसायिक खेती गर्दै आएका छन्।

जिल्लामा चिराइतो, सतुवा, सेतक चिनी, शक्ति गुम्बा, पदम चाल, वन मुला, वन लसुन, टिमुर, किम्बु, भुत्केस, बुढो ओखती, लोड सल्ला, विखुम्बालगायत जडीबुटी हुने गरेको छ। धेरै प्रजातिका जडीबुटी पाउने भए पनि पहिचान गर्न गाह्रो भएको तथा सोसम्बन्धी ज्ञानको अभावले त्यस्ता प्रजातिका जडीबुटीको खेती गर्न समस्या हुने गरेको किसान बताउँछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *