हेटौंडा पर्यटन वर्ष २०८३ को प्रतिक चिन्ह तयार गर्दै उपमहानगर
बागमती। हेटौंडा उपमहानगरपालिकाले हेटौंडा पर्यटन वर्ष २०८३ को आधिकारिक प्रतिक चिन्ह (लोगो) बनाउने तयारी गरेको छ।
उपमहानगरपालिकाको आर्थिक वर्ष २०८३/ ०८४ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार ‘हेटौंडा पर्यटन वर्ष २०८३’ मनाउने सन्दर्भमा उपमहानगर क्षेत्रभित्रका ऐतिहासिक, धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा पर्यटकीय स्थलहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने उद्देश्यका साथ ‘हेटौँडा पर्यटन वर्ष २०८३’ को आधिकारिक प्रतिक चिन्ह तयार गर्न लागिएको हो।
प्रतिक चिन्ह तयार गर्ने सम्बन्धमा उपमहानगरले सार्वजनिक सूचना जारी गर्दै इच्छुक नेपाली नागरिक, कलाकार, डिजाइनर तथा सङ्घ÷संस्थाहरूलाई आह्वान समेत गरेको छ।
प्रतिक चिन्ह तयार गर्दा हेटौंडा नगरको प्राकृतिक सौन्दर्य, हरित नगर, धार्मिक सम्पदा, वन–वनस्पति, जैविक विविधता तथा पर्यटकीय सम्भावनालाई रचनात्मक र कलात्मक रूपमा साङ्केतिक प्रस्तुति हुनुपर्ने उल्लेख गर्दै यो पूर्ण रूपमा नयाँ, मौलिक र अप्रकाशित, सामाजिक र राष्ट्रिय एकता अनुकूल हुनुपर्ने लगायतका सर्त र मापदण्ड राखिएको छ।
प्राप्त प्रतिक चिन्ह मध्येबाट विषयविज्ञ टोलीको मूल्याङ्कनका आधारमा सर्वोत्कृष्ट प्रतिक चिन्ह बनाउने व्यक्ति (डिजाइनर) लाई पुरस्कृत समेत गरिने उपमहानगरपालिकाले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment