कांग्रेस नेता गिरिको निधनप्रति राष्ट्रपति, प्रधानमन्त्रीदेखि पूर्वप्रधानमन्त्रीसम्मको श्रद्धाञ्जली
काठमाडौं। नेपाली कांग्रेसका नेता तथा समाजवादी चिन्तक प्रदीप गिरिको निधनले धेरैलाई दुःखी बनाएको छ । गिरिको उपचारका क्रममा ललितपुरको मेटिसिटी अस्पतालमा शनिबार बेलुकी निधन भएको हो ।उनको निधन भएसँगै यतिबेला उनलाई श्रद्धाञ्जली दिनेहरुको भीड लागिरहेको छ।
उनको निधनप्रति राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगायत देशका विभिन्न राजनीतिक दलका शीर्ष नेतादेखि विभिन्न तह र तप्कामा रहेका नागरिकहरुले दुःख व्यक्त गरेका छन्।
उनको निधन शनिबार बेलुका ९ बजेर ३० मिनेट जाँदा भएको थियो। गिरिको जन्म सिरहा जिल्लाको बस्तीपुर गाउँ (हाल लहान न.पा–१४)मा बि.सं.२००२ साल लक्ष्मीपूजाका दिन भएको थियो। उनी पिता मित्रलाल गिरीका छोरा तथा पूर्वप्रधानमन्त्री तुलसी गिरि र पूर्वमन्त्री रुद्रप्रसाद गिरिका भतिजा हुन्।
सानैदेखि तीक्ष्ण बुद्धि र मेधाबी छात्रको रूपमा परिचित गिरिको परिचय राजनीतिज्ञसँगै अध्येता र विचारकको रूपमा रहेको थियो ।
कुनै पनि सार्वजनिक पदमा लालसा नदेखाएका गिरि सन्त नेताका रुपमा पनि चिनिन्छन् । उनले लिएको सार्वजनिक पद भनेको सांसदमात्र हो । उनले पहिलो पटक २०५१ सालमा सिरहाबाट निर्वाचित भएर संसदको यात्रा सुरु गरेका थिए।त्यसपछि २०५६ सालको निर्वाचनमा पराजित भएका गिरि २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिकमा बसेका थिए।
तर २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा भने प्रत्यक्ष निर्वाचन जितेका थिए।यसरी पटक–पटक सांसद बने पनि गिरिले कहिल्यै मन्त्री बन्न इच्छा देखाएनन् । अध्ययन, अनुसन्धान र लेखनमा रुचि राख्ने उनले लेखेका लेनिनको जीवनी, नारी, मार्क्सवाद र अर्थशास्त्रलगायत विषयमा एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन्।
भारतका समाजवादी चिन्तक डा. राममनोहर लोहिया र जयप्रकाश नारायणको समाजवादी विचार र चिन्तनबाट उनी प्रभावित भएको उनी नजिकका नेताहरु बताउँछन् ।उनी स्व. मित्रलाल गिरिका ५ छोराहरुमध्ये माइलो छोरा हुन्। अकाट्य तर्क, चिन्तन, सुबोध्य भाषण कला, सुपाच्य लेखनशैली, आफ्नै विवेकका पक्षपाती गिरि संसद र सभाहरुमा प्रखर वक्ताका रुपमा सुपरिचित थिए ।
उनका वीपी र समाजवाद, विश्वेश्वरप्रसाद कोइराला राजनीतिक अभिलेख, महात्मा गान्धी र राममनोहर लोहियाका जीवनी, लेनिन एक अध्ययन जस्ता दर्जनौं कीर्तिहरु प्रकाशित छन् । केही राजनीतिक प्रवचन होस् वा साहित्यिक सम्मेलन त्यहाँ गिरि आउँदैछन् भन्नासाथ उनलाई सुन्न र बुझ्न बौद्धिक जमातको उपस्थिति ह्वात्तै बढ्ने गरेको थियो ।
उनको सम्झनामा कसले के भने ?
राष्ट्रपति विद्यादेवी भण्डारीले गिरिको निधनबाट समाजवादी चिन्तक, सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएको बताएकी छन् । उनले आज ट्वीट गर्दै सो कुरा बताएकी हुन्।भण्डारीले लेखेकी छन्, ‘गिरिको निधनको खबरले अत्यन्त दुःखी बनाएको छ । उहाँको निधनबाट हामीले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएका छौं ।’ उनले गिरिप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेकी छन् ।
समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदिप गिरिको निधनको खबरले अत्यन्त दुखी बनाएको छ। उहाँको निधनबाट हामीले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएका छौं। म दिवंगत प्रदिप गिरिप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । साथै, शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु।
— Bidya Devi Bhandari (@PresidentofNP) August 21, 2022
त्यस्तै प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले गिरिलाई वैचारिक र समाजवादी चिन्तक रहेको बताएका छन् । उनको निधनको खबरल आफू निकै स्तव्ध भएको समेत उनले जनाएका छन् ।‘नेपाली कांग्रेसका नेता एवं नेपाली राजनीतिका बैचारिक र समाजवादी चिन्तक मेरा मित्र प्रदीप गिरिजीको निधनको खवरले निकै स्तब्ध भएको छु । उहाँको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको छ,’ प्रधानमन्त्री देउवाले ट्वीटर मार्फत भनेका छन्, ‘उहाँको आत्माको चिर शान्तिको कामना गर्दै यस दुखद घडीमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।’
संसदको प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गिरि चिन्तनशील राजनीतिकर्मी भएको बताएका छन् ।सामाजिक सञ्जाल ट्वीटरमा ओलीले लेखेका छन्, ‘चिन्तनशील राजनीतिकर्मी, मित्र प्रदीप गिरिको निधनबाट मर्माहत भएको छु । उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’
माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गिरीलाई नेपाली राजनीतिको वौद्धिक व्यक्तित्व र वरिष्ठ समाजवादी चिन्तक भएको स्मरण गरेका छन् ।‘नेपाली राजनीतिका वौद्धिक व्यक्तित्व वरिष्ठ समाजवादी चिन्तक एवं नेपाली काँग्रेसका नेता प्रदीप गिरिको निधनले स्तब्ध बनाएको छ । उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछु,’ प्रचण्डले भनेका छन् ।
नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि गिरीलाई प्रखर समाजवादी चिन्तकको रुपमा सम्झना गरेका छन् ।सामाजिक सञ्जाल ट्वीटरमा डा. भट्टराईले लेखेका छन्, ‘प्रखर समाजवादी चिन्तक तथा आत्मीय मित्र प्रदीप गिरिको निधनमा निःशब्द छु । २०३४ सालदेखि ४५ बर्ष निरन्तर उहाँसँगको गहन बौद्धिक विमर्शले मलाई ठुलो उर्जा प्रदान गर्ने गरेको थियो । नयाँ समाजवादी धारको विकासमा लागेका हामी सबैलाई उहाँको निधनले ठूलो क्षति पुगेको छ ! हार्दिक श्रद्धान्जली/समवेदना !’
गिरिको आवश्यकता पछिल्लो समय झन् बढ्दै गरेको अवस्थामा उनको निधनले नेपाली राजनीतिमा अपूरणिय क्षति गरेको उनले बताएका छन् ।‘प्रदीपजी, छिटै छोडेर जानुभो! अहिलेको भीषण वैचारिक खडेरीमा हाम्रो सहकार्य/सहयात्रा झन् आवश्यक थियो । टोखाको हार्मोनी हाउजिंगमा सँगै बसेर यो वैचारिक खडेरी चिर्न सहकार्य गर्ने हाम्रो सल्लाह पूरा हुन पाएन । तपाईंले राजनीतिमा गहन वैचारिकी र त्यागको जुन मानक छोड्नुभएको छ त्यो सधैं रहिरहनेछ,’ डा. भट्टराइले भनेका छन् ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले स्व. गिरीलाई समाजवादी चिन्तकको रुपमा स्मरण गरेका छन् ।‘नेपाली कांग्रेसका नेता, सांसद तथा समाजवादी चिन्तक प्रदीप गिरिको शनिबार राति उपचारको क्रममा निधन भएको खबरले अत्यन्त दुःखी बनाएको छ । दिवंगत नेता गिरिप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु,’ नेपालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार गिरिको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि मेडिसिटी अस्पतालको प्राङ्गणमा रहेको शिवालय मन्दिरमा बिहान ९ बजेदेखि ११ बजेसम्म रहेको थियो। त्यसपछि साढे ११ बजेदेखि २ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिनेछ ।पार्टी कार्यालयमा अन्तिम श्रद्धाञ्जलीपछि गिरिको आजै दिउँसो पशुपतिमा अन्त्येष्टि गरिने मुख्य सचिव पौडेलले जानकारी दिएका छन् ।








डिसी नेपाल








Facebook Comment