प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय विदेश सचिव मिस्रीबीच आज भेटवार्ता हुँदै
सांकेतिक तस्बिर
काठमाडौं। दुईदिने औपचारिक भ्रमणका लागि काठमाडौंमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले आज प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्दै छन्। प्रधानमन्त्री कार्यालयमा हुने भनिएको यस भेटवार्तालाई प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणको तयारी र दुई देशबीचको कूटनीतिक सम्बन्धका दृष्टिसोले अत्यन्त महत्वपूर्ण मानिएको छ।
भारतीय विदेश सचिव मिस्री द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले बुधबार काठमाडौं आइपुगेका हुन्। काठमाडौं आगमनलगत्तै उनले व्यस्त कूटनीतिक भेटघाटहरू सुरु गरेका थिए।
उनले बुधबार नै परराष्ट्र सचिव अमृतबहादुर राईसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गरेका थिए। सोही दिन उनले परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री स्वर्णिम वाग्लेसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री बालेन्द्र शाहको नोभेम्बरको अन्तिमतिर (मंसिर पहिलो साता) हुने तय भएको प्रस्तावित भारत भ्रमण र यसका एजेन्डाबारे भारतीय विदेश सचिवको यस भ्रमणमा मुख्य रूपमा केन्द्रित रहेर छलफल भइरहेको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा हुन लागेको प्रधानमन्त्री शाहको यो पहिलो औपचारिक द्विपक्षीय विदेश भ्रमणको मिति र अन्य तयारीसमेत विदेश सचिव मिस्रीको यो भ्रमण समाप्त भएपछि औपचारिक रूपमा सार्वजनिक गरिने बताइएको छ।
आज प्रधानमन्त्री बालेन्द्र शाहसँगको भेटवार्तापछि भारतीय विदेश सचिव मिस्री आफ्नो दुईदिने औपचारिक भ्रमण सम्पन्न गरी आजै नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment