घुम्दै फिर्दै जिजुकै पेशामा

डिसी नेपाल
१३ भदौ २०७९ १९:५५
204
Shares

लेखनाथ । रोजगारीकै लागि खाडी मुलुकमा नपुगेका होइनन् उनी । परिवार पाल्नकै लागि दश वर्ष त खाडी मुलुकमै पसिना बगाए । उनीसँग बास बाहेक गरी खाने एक टुक्रा पनि जमिन छैन । चार वर्षकै उमेर छँदा उनका बुबाको मृत्यु भयो । परिवार पाल्ने मूल व्यक्तिकै मृत्युले उनको परिवारमा विचलन मात्र आएन दैनिकी समेत कष्टपूर्ण बन्यो ।

चार वर्षमा टुहुरो बनेका प्रकाशलाई उनकी आमाले गाउँघरमा खेतालो गएर ल्याएको ज्यालाले हुर्काइन् । आमाको दुःख, कष्ट उनले सानै उमेरमा देख्दै र भोग्दै आए । आमाको दुःख बाँड्नु पर्छ भन्ने सोच उनीमा आयो । पोखरा–२६ लेखनाथ स्थित सिलिङ्गे निवासी ४२ वर्षीय प्रकाश विश्वकर्मा बिहान बेलुका हातमुख जोर्न १२ वर्षकै उमेरमा गाउँलेको हलो मात्रै जोतेनन् उनले पोखरा नदिपुरको एक भाँडा पसलेकहाँ तामाका भाँडा बनाउने कामसमेत गरे । तामाका भाँडा बनाउँदाको पैसाले नपुगेर विदेशमा बढी कमाइन्छ कि भनेर उनी तामाका भाँडा बनाउँदा बनाउँदै विदेश हानिए ।

दुई कक्षासम्म अध्ययन गरेका प्रकाशले पछिल्ला दश वर्ष त खाडी मुलुकमै पसिना बगाए । विदेशमा पाउने मासिक ३० हजार रुपैयाँले परिवार पालिने काम मात्र भएपछि उनले सोचविचार गरे ‘सीप भएको मानिस किन बिदेशमा बसिराख्नु यति पैसा त नेपालमै कमाइन्छ’ । परिवारसँग पनि सँगै बस्न पाइने भन्दै नेपाल फर्के उनी ।

पत्नी, एक छोरा र एक छोरी भएका प्रकाशले एक वर्षयता घर नजिकै लेखनाथको कालिका चोकमा आरन व्यवसाय सुरु गरेका छन् । मासिक रु छ हजार भाडा तिर्ने गरी जग्गा भाडामा लिएर उनले आरन व्यवसाय सुरु गरेका छन् ।

“जिजु बाजेको पालादेखि सञ्चालन हुँदै आएको आरन व्यवसाय युवाले अँगाल्न छाडिसकेकाले मैले यही पेशामा भविष्य देखेर रोजेँ”, प्रकाशले भने, “हाम्रा बाउ बाजेले पनि यही पेशा गरे अहिलेका युवा सबैले छाडे ।” उनी यही पेशाबाट विदेशमा कमाइने पैसा घरै बसेर आर्जन गर्न सकिन्छ र भविष्य पनि छ भन्दै दत्तचित्त भएर आरन व्यवसायमा लागेका छन् ।

उनको आरन व्यवसाय एक वर्षदेखि राम्रो चलेको छ । उनको काममा उनकी पत्नीले पनि सघाउँछिन् । छोरा कक्षा ११ र छोरी कक्षा सातमा पढ्दै छन् । “मैले कालिका चोकमा आरन व्यवसाय सुरु गरेको छु, वरपर आरन व्यवसाय नभएकै कारण दिनहुँ आरनमा ग्राहकको भीड लाग्छ”, प्रकाशले भने ।

पोखराको लेखनाथ स्थित वडा नं २६, २७, २९, १४, १५ का मानिसहरु हँसिया, दाउ, बन्चरो, छिनो, फाली, गैँची, कुटो, कोदालो, तामा तथा सिलोट भाँडा तथा फलामका हतियारमा धार लगाउन आउने गर्छन् । प्रकाशले भने विदेशमा प्राप्त हुने पारिश्रमिक यहाँ सजिलै उठेको छ । “मासिक ३०–४० हजार कमाइ हुन्छ, त्यसले जिनतेन परिवार पाल्ने काम भएको छ, यो पेशा कठिन छ, कामकै सिलसिलामा कहिले आगोले शरीरका अङ्गहरु पोलिन्छन् कहिले हात खुट्टा काटिन्छ, तर पनि सुरक्षित भएर फलामको काम गरेको छु”, प्रकाशले भने । विदेशमा पसिना बगाउनुभन्दा आफ्नै देशमा पसिना बगाएमा देशको विकास हुने धारणा उनको छ ।

“आरन व्यवसाय सुरु गर्दा डेढ लाख रुपैयाँ खर्च भएको छ, व्यवसाय गर्दा सरकारी अनुदान पाइन्छ भनिन्छ तर मैले कतैबाट अनुदान सहयोग प्राप्त गर्न सकिन । आरन व्यवसायलाई आधुनिक बनाउनका लागि केही पैसा आवश्यक पर्छ त्यो पैसा नभएर व्यवसाय विस्तार गर्न पाएको छैन”, प्रकाशले भने, “गाउँमा विभिन्न पार्टीका नेता छन् तर सरकारी अनुदान प्राप्त गर्ने बाटो सिकाउँदैनन् ।”

प्रकाशलाई व्यवसाय विस्तारका लागि पैसा चाहिएको छ, तर उनले कहीँ कतैबाट पैसा पाएका छैनन् । उले भने, “नेताहरु चुनावका बेला भोट माग्न घर खोजी–खोजी आउँछन् तर अनुदान र सहयोग गर्ने बेलामा वास्तै गर्दैनन् । हामी जस्ता दुखी गरिबलाई हेर्ने कुनै सरकार भएन”, प्रकाशको गुनासो छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *