माओवादीको समानुपातिक बन्दसूचीबाट कृष्णबहादुर महराको नाम हटाइयो

डिसी नेपाल
१७ असोज २०७९ १६:०९
244
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको नाम समानुपातिकको बन्द सूचीबाट हटाइएको छ ।

निर्वाचन आयोगले समानुपातिकको बन्द सूचीमा रहेकाहरूको नाम सच्याउन दिएको अन्तिम समयमा आएर महराको नाम हटाएको हो ।

२०४८ सालदेखि लगातार टिकट पाएका र जितेका महरालाई समानुपातिकमा राखिएकोमा आलोचना भएपछि महराकै इच्छामा उनको नाम हटाइएको माओवादी केन्द्र स्रोतले पुष्टि गरेको छ ।

बन्दसूचीमा सूचीकृत कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा आज बिहान १० बजेदेखि १२ बजेसम्म निवेदन दिने र आजै दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारी फिर्ताबारे सम्बन्धित दललाई जानकारी दिने कार्यक्रम थियो । निर्वाचन आयोगमा उम्मेदवारी फिर्ताबारे विस्तृत विवरण सङ्कलन हुने क्रम जारी छ ।

निर्वाचन कार्यक्रम अनुसार यही असोज २० गतेदेखि २२ गते ३ बजेसम्म उम्मेदवारी फिर्ता लिएको कारणबाट रिक्त हुने स्थानमा सोही समूहले अर्को उम्मेदवारको मनोनयन गरी सम्बन्धित राजनीतिक दलले आयोगमा पेस गर्ने निर्वाचन कार्यक्रम छ ।

यस्तै यही असोज २२ गते उम्मेदवारको बन्दसूचीमा सूचना प्रकाशन गर्ने, असोज २३ गतेदेखि २९ गतेसम्म बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारको योग्यतासम्बन्धी दाबी विरोधको निवेदन दिने, असोज ३० गते दाबी विरोधको निवेदनमाथि जाँचबुझ र निर्णय लिने, कात्तिक ८ गते बन्दसूचीबाट उम्मेदवारको नाम हटेको सूचना प्रकाशन गर्ने र कात्तिक ९ गते उम्मेदवारको बन्दसूची अन्तिमरुपमा प्रकाशन गर्ने कार्यक्रम छ । यी सबै कार्य बहादुर भवनस्थित आयोगको कार्यालयबाट हुनेछन् । यही असोज २ र ३ गते उक्त बन्दसूची पेस गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.