संसारकै धनी एलन मस्क र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच विवाद

डिसी नेपाल
१९ असोज २०७९ ११:०८
256
Shares

काठमाडौं । टेस्लाका मालिक एलन मस्कले रुसी आक्रमण अन्त्यका लागि आफ्नो सुझावसहितको ट्विटर पोल पोस्ट गरेपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले त्यसको जवाफ दिएका छन्।

मस्कले आफ्ना १० करोड ७७ लाख फलोअरहरूलाई ट्विटर पोलमार्फत आफ्नो विचार अनुसार मत जाहेर गर्न आग्रह गरेका थिए।

त्यसमा उनले डोन्बास र क्राइमियाका मानिसहरूलाई कुन देश रोज्ने भन्ने निर्णय गर्न दिन ठिक कि बेठिक भन्ने मत सर्वेक्षणमा भाग लिन आफ्ना फलोअरहरूलाई भनेका छन्।

त्यसको जवाफमा जेलेन्स्कीले पनि त्यस्तै ट्विटर पोल पोस्ट गरेका छन्।

त्यसमा उनले युक्रेनलाई समर्थन गर्ने वा रुसलाई समर्थन गर्ने कुन चाहिँ संसारकै धनी व्यक्ति तपाईँलाई मन पर्छ? भनेर सोधेका छन्।

अन्य युक्रेनीहरूले पनि मस्कको आलोचना गरेका छन्।

जर्मनीका लागि युक्रेनका निवर्तमान राजदूत एन्ड्रिज मेल्निकले कडा शब्दमा त्यसको जवाफ दिएका छन्। त्यसलाई उनी आफैँले “अति कूटनीतिक जवाफ” भनेका छन्।

मस्कको विचारमा रुसले कब्जा गरेको युक्रेनका केही भागहरूमा मतदानद्वारा समस्या समाधान गर्न सकिन्छ।

उनले यदि जनताको इच्छा रुसले कब्जा नगरोस् भन्ने हो भने रुसले त्यो क्षेत्र छाड्ने बताएका छन्।

किभ र उसका पश्चिमी सहयोगीले कथित जनमत सङ्ग्रहलाई “छद्म” भन्दै निन्दा गरे पनि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चार वटा युक्रेनी भूभागलाई रुसको हिस्सा भएको घोषणा गरिसकेका छन्।

यद्यपि ती चार वटै क्षेत्रमा रुसको पूर्ण नियन्त्रण कायम छैन।

मस्कले सन् २०१४ मा रुसले आफ्नो देशमा गाभेको क्राइमियालाई रुसको हिस्साका रूपमा विश्वले औपचारिक रूपमा मान्यता दिनुपर्ने सुझाव पनि दिएका छन्।

मस्कको पोस्ट भएको दश घण्टाभित्र २० लाखभन्दा बढी मत प्राप्त भएको छन्।

त्यसको जवाफमा जेलेन्स्कीले पोस्ट गरेको ट्विटर पोलमा ८ घण्टामा १५ लाखभन्दा बढी मत प्राप्त भएको छ।

यसअघि रुसले आक्रमण गरेपछि मस्कको स्याटेलाइट इन्टरनेट कम्पनीले युक्रेनमा उपकरण पठाएको थियो।

त्यसबाट युक्रेनमा मस्कले लोकप्रियता हासिल गरेका थिए र उनलाई जेलेन्स्कीले रुससँगको युद्ध समाप्त भएपछि आफ्नो देश भ्रमण गर्न निम्ता पनि दिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *