पहिरोले दसैँका बेला घर छाडेर भागाभाग

डिसी नेपाल
२१ असोज २०७९ १४:११
40
Shares

बलेवा । बागलुङ नगरपालिका वडा नं ११ को तल्लो रामतोलामा पहिरो खसेको एक महिना भयो । महिना दिनदेखि निरन्तर बगेको पहिरोका कारण यहाँका दर्जनौँ घरपरिवारले दसैँको टीकासमेत आफ्नो घरमा बसेर लगाउन पाएनन् ।

भदौको १९ गतेदेखि जमिन चिरा परेको र २१ गते अविरल वर्षात्पछि जमिन बग्न थालेको थियोे । निरन्तर बगिरहेको जमिनमा दसैँका बेला भइरहेको भारी वर्षाले झन असर गरेको छ । जमिन बग्दा सडक, ठूला पीपलका रुखसमेत बगेका छन् । पहिरो खस्न थालेपछि स्थानीय किसानले लगाएका सुन्तलाको बगान, कुखुरापालन फार्मलगायत गोठ पुरिएका छन् । कतिपय घर चिरा परेका छन् भने केही किसानका घर र गोठ भत्केका छन् ।

“पहिला एउटा पाटोमा मात्रै ठूलो पहिरो थियो, अहिले अर्को पाटो पनि बग्यो”, वडाध्यक्ष ज्ञानेन्द्र गौतमले भने, “सुरक्षित छन् भनेका घर र यहाँ रहेका पशुपक्षीको फार्मसमेत पुरिने अवस्थामा पुगे ।”

भारी वर्षा र पहिरोसँगै खसेको भेल गाउँ पसेको छ । “आफ्नो घर छ, तर पहिरोले राज गरेको छ, अर्कैको घरमा दसैँ मनाउनुपर्यो, बासविनाको दसैँ खल्लो भयो”, स्थानीय कुलराज शर्माले भने, “छिमेकीका घर पनि चिरा परेका छन्, जुनसुकै बेला खस्छन्, हाम्रो दसैँ भागाभागमै बित्यो ।” यो बस्तीका खानेपानीको ट्याङ्कीसमेत बगेपछि स्थानीयवासी चिन्तामा छन् ।

उक्त पहिराले उनीसहित दर्जन बढी घरपरिवार विस्थापित भइसकेका छन् । केही घरपरिवार सुरक्षित ठाउँको खोजीमा रहेको अर्का स्थानीयवासी विष्णु पौडेलले जानकारी दिए । जमिन चिरा परेको स्थान हेर्दा थप सयौँ रोपनी जमिन, घर तथा सडक बग्ने अवस्थामा रहेको देखिएको उनले बताए । पहिरोले यहाँको तमाखुवारी भन्ने अर्को बस्तीमा पनि जोखिम बढेको छ ।

“यो सङ्केत हेर्दा यहाँको बस्ती नै जोखिममा भयो, पहिलाभन्दा अब धेरै घर विस्थापित हुने भए”, पौडेलले भने, “अर्बौं खर्चेर पनि रोकथाम हुने अवस्था छैन ।” बगेको पहिरोले जैमिनी नगरपालिका वडा नं १ को ओडार भन्ने स्थानमा पनि दर्जन घर विस्थापित भएका छन् । उनीहरुले पनि यो वर्षको दसैँ आफ्नो घर छोडेर अर्कैको घरमा मनाए । रामतोलादेखि तल्लो खण्ड जैमिनी नगरपालिका–१ मा पर्छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *