सायंकालमा गरियो धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना, राति जाग्राम बसिँदै

डिसी नेपाल
२३ असोज २०७९ १९:५८
80
Shares

काठमाडौं । धन धान्यकी देवी महालक्ष्मीको आज सायंकालमा पूजा आराधना गरी कोजाग्रत पूर्णिमा पर्व मनाइँदै छ ।

नेपालीले भव्यरूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्वको अन्तिम दिन आज कोजाग्रत पूर्णिमाका अवसरमा सायंकालमा घरघरमा महालक्ष्मीको पूजा आराधना गरिएको हो । धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि १५ दिन लामो बडा दशैँ पर्व समापन हुन्छ ।

शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम भने शनिबार नै समापन भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि समाप्त हुन्छ । आजै जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि पवित्र तीर्थस्थलमा लगी सेलाइएको छ ।

आश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरु भएको दुर्गा पक्ष अर्थात् दशैँ पर्व आम नेपालीले आ–आफ्नो गच्छेअनुसार मनाएका छन् । आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउन शुरु गरिएकोे समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारी बताउँछन् ।

माता दुर्गाका तीनवटा रूपमध्येका एक रूप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ । नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ ।

लक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्व छ । यो पूर्णिमालाई कौमुदी पनि भनिन्छ । आज राति जुवा खेल्ने विधानसमेत रहेको उनले बताए । महालक्ष्मीसँगै आज हात्तीमा चढेका इन्द्रको पनि पूजा गर्नुपर्छ ।

कार्तिक स्नान गरी तुलसीको विशेषरूपमा गरिने पूजा आराधना पनि आजैदेखि सुरु भएको छ । आकाशदीपदान पनि आजै साँझदेखि सुरु गरिएकोे छ । आजदेखि कार्तिक शुक्ल पक्षसम्म आकाशदीप दान गर्ने गरिन्छ । तुलसीको विशेष पूजा पनि सोही समयसम्म गरिन्छ । कार्तिक शुक्ल पक्षमा तुलसीको विवाह दामोदरसँग गरी अग्निस्थापना विधिले हवन गरेपछि तुलसीको विशेष पूजा आराधना समापन हुन्छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *