युक्रेनलाई ‘सिँत्तैमा स्टारलिङ्क इन्टरनेट सेवा’ दिइरहन नसक्ने टेस्लाका मालिकको भनाइ
न्युयोर्क । किभसँग भनाभन भइरहेको बेला विश्वका सबभन्दा धनाढ्य व्यक्ति एलन मस्कले उनको रकेट कम्पनी स्पेस एक्सले अनन्तकालसम्म युक्रेनलाई सिँत्तैमा स्टारलिङ्क इन्टरनेट सेवा दिन नसक्ने बताएका छन्।
फेब्रुअरीमा उनले आफ्नो कम्पनीको इन्टरनेट प्रणाली युक्रेनलाई उपलब्ध गराएका थिए। त्यसले युक्रेनको सेना तथा सर्वसाधारणलाई अनलाइन सेवा मिलिरहेको छ।
तर गत महिना टेस्ला कम्पनीका मालिक मस्कले अमेरिकी रक्षामन्त्रालय पेन्टागनलाई नै उक्त सहयोग कार्यक्रममा लगानी गर्न अनुरोध गरेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।
हालै ट्वीटरमा युक्रेनले भूभाग त्याग्नु पर्ने सुझाव दिएपछि किएभ उनीविरुद्ध क्रुद्ध बनेको थियो। “स्पेस एक्सले भइसकेका खर्च पनि तिर भनेको छैन। तर अब कम्पनीले यो सेवा अनन्तसम्म (सिँत्तैमा) दिन सक्दैन,” शुक्रवार मस्कले ट्वीट गर्दै भनेका थिए।
स्पेस एक्स कम्पनीले स्टारलिङ्क प्रणाली बनाउँछ। स्टारलिङ्कले भूउपग्रहहरूको सञ्जालमार्फत् ब्रोडब्याण्ड इन्टरनेट सेवा दिन्छ। तर उक्त प्रणाली सञ्चालन सहयोगको मासिक खर्च २ करोड अमेरिकी डलर रहेको मस्कले बताएका छन्।
उनका अनुसार हालसम्म स्पेस एक्सले युक्रेनलाई उक्त सुविधा प्रदान गर्न ८ करोड डलर खर्च गरिसकेको छ।
“स्टारलिङ्क टर्मिनलहरूका अतिरिक्त हामीले भूउपग्रह तथा पृथ्वीमा त्यसका स्टेशनहरूको निर्माण, प्रक्षेपण, व्यवस्थापन अनि मर्मतसम्भार गरिरहनुपर्छ,” उनले ट्वीटरमा लेखेका छन्।
“साथै साइबर हमला तथा ज्यामिङ्बाट तिनलाई निरन्तर जोगाउनुपर्छ जुन झन् झन् कठिन बन्दै गइरहेको छ।”
रुसविरुद्धको युद्धमा अनि आफ्ना भूभाग फिर्ता लिने युक्रेनका सैन्य कारबाहीहरूमा उक्त इन्टरनेट सेवा महत्त्वपूर्ण प्रमाणित भएको छ।
यो हप्ता रुसले १ सयभन्दा धेरै क्षेप्यास्त्र प्रहार गरेका क्षेत्रमा आफ्ना संरचना पुन: सञ्चालनमा ल्याउन स्टारलिङ्कको ठूलो योगदान भएको युक्रेनले बताएको छ।
मस्कसँगको वादविवाद तथा तनावलाई युक्रेनका उपप्रधानमन्त्री मिखाइलो फेदोरोभले मत्थर पार्ने कोसिस गरेका छन्।
उनले ट्वीटरमा लेख्दै अर्बपति मस्क ‘युक्रेनलाई समर्थन गर्ने अग्रणी निजी दातामध्ये एक’ भनेका छन्।
“हाम्रा अति महत्त्वपूर्ण संरचनामध्ये स्टार लिङ्क एक अत्यावश्यक पाटो हो।”
युक्रेनी राष्ट्रपतिका सल्लाहकारले स्टार लिङ्क सेवा निरन्तर कायम राख्न युक्रेनले कुनै समाधान निकाल्ने बताए।
यो महिनाको सुरुमा मस्कले ट्वीट गर्दै युक्रेनलाई क्राइमियाको विलय स्वीकार्न अनि रुसले अतिक्रमण गरेका क्षेत्रमा जनमत सङ्ग्रह गराउन सुझाव दिएका थिए।
क्रेम्लिनले ती सुझावप्रति सकारात्मक प्रतिक्रिया दिएको थियो।
तर जर्मनीका निम्ति युक्रेनी राजदूत आन्द्रिज मेल्निकले ट्वीटमार्फत् अश्लील शब्दसमेत प्रयोग गर्दै मस्कलाई युक्रेनबाट जान भनेका थिए।
त्यसैतर्फ औँल्याउँदै मस्कले भनेका छन्, “हामी केवल उनको सुझाव मानिरहेका छौँ।”
हालै मस्कोले युक्रेनका चार क्षेत्रमा कथित जनमत सङ्ग्रह गराएर आफूमा गाभेको घोषणा गरेको थियो।
तर ती क्षेत्रमा मस्कोको पूर्ण नियन्त्रण भने छैन।







डिसी नेपाल







Facebook Comment