अनलाइनबाट ४ अर्ब १४ करोडको सामान अर्डर गरेर क्यान्सल गर्ने महिला पक्राउ, ७२ लाखको घाटा
काठमाडौं । जापानबाट एउटा यस्तो घटना बाहिर आएको छ, जसलाई सुनेपछि अनलाइन सपिङप्रति विश्वास गर्नै गाह्रो पर्न सक्छ। यहाँकी एक ३२ वर्षीया महिलाले कुनै अनलाइन स्टोरबाट एक-दुई पटक होइन, हजारौँ पटक सामान अर्डर गरिन्।
तर, अचम्मको कुरा के थियो भने उनी ती सामानहरू किन्नै चाहँदिनथिन्। उनी अर्डर गर्थिन् र पछि त्यसलाई क्यान्सल (रद्द) गरिदिन्थिन्। यी अर्डरहरूमा जापानका चर्चित ‘एनिमे’ र ‘मङ्गा’ शृङ्खलासँग सम्बन्धित सामग्रीहरू समावेश थिए। मङ्गा जापानका प्रसिद्ध कमिक्स र चित्रकथा पुस्तकहरू हुन्, जसमा कथाहरू तस्बिरमार्फत प्रस्तुत गरिन्छ ।
प्रहरीका अनुसार ती महिलाले करिब ४.३ अर्ब येन (करिब ४ अर्ब १४ करोड नेपाली रुपैयाँ बराबर) मूल्यका सामानहरू अर्डर गरेकी थिइन्। यद्यपि, यो रकम उनले वास्तवमा खर्च गरेको रकम भने होइन। उनले यी सामानहरू किन्दै किनिनन्।
उनले बारम्बार अर्डर गर्ने र पछि रद्द गर्ने गरिरहिन्। यस कारण सामान बिक्री गर्ने कम्पनीले डेलिभरी र अन्य प्रशासनिक प्रक्रियामा करिब ७.५ मिलियन येन (करिब ७२ लाख नेपाली रुपैयाँ) नोक्सानी व्यहोर्नुपर्यो।
जापानी सञ्चारमाध्यमका अनुसार अभियुक्त महिलाको नाम मायू योशिदा हो। उनी एक रेस्टुरेन्टमा काम गर्छिन्। प्रहरीका अनुसार उनले एनिमे र मङ्गासँग सम्बन्धित सामानहरू अर्डर गर्नका लागि २३८ वटा फरक-फरक खाता (अकाउन्ट) हरूको प्रयोग गरेकी थिइन्।
यी सामग्रीहरूमा चर्चित एनिमे र मङ्गाका लोकप्रिय पात्रहरूसँग जोडिएका सामानहरू थिए। ती महिलाले २ हजारभन्दा बढी अर्डरहरू गरेकी थिइन्। केही मामिलामा उनले भुक्तानी (पेमेन्ट) नै गरिनन्, जसका कारण तोकिएको समयपछि अर्डर स्वतः रद्द भयो।
यसबाहेक उनले धेरै पटक ‘क्यास अन डेलिभरी’ (सामान पाएपछि मात्र पैसा बुझाउने) विकल्प रोजिन्। जब सामान उनको ठेगानामा पुग्थ्यो, उनी पार्सल लिन अस्वीकार गरिदिन्थिन्। प्रहरीका अनुसार यस्ता २,१०० भन्दा बढी अर्डरहरू रद्द गरिएका थिए।
मामिला यत्तिमा मात्र सकिएन। रिपोर्टअनुसार ती महिलाले केही अर्डरहरूमा गलत वा काल्पनिक ठेगानाको समेत प्रयोग गरेकी थिइन्। यस्तो अवस्थामा कम्पनीका लागि सामान डेलिभरी गर्न निकै गाह्रो हुन्थ्यो।
बारम्बार अर्डर गर्ने र फेरि रद्द गर्नाले कम्पनीले सामानको प्याकिङ, डेलिभरी र फिर्ता ल्याउनेसँग सम्बन्धित सबै खर्च आफैँ व्यहोर्नुपर्यो। जापानी प्रकाशन कम्पनी ‘स्वेसा’ का अनुसार यस सिङ्गो प्रकरणमा उसलाई करिब ७२ लाख रुपैयाँको नोक्सानी भएको छ।
प्रहरी सोधपुछका क्रममा ती महिलाले आफ्नो यो अनौठो व्यवहारको कारण पनि खुलाएकी छन्। उनले आफूलाई एनिमे मन पर्ने र तीसँग जोडिएका सामानहरू हेर्न तथा अर्डर गर्न पाउँदा खुसी लाग्ने बताएकी छन्।
उनका अनुसार उनको दैनिक जीवनमा निकै तनाव थियो। जब कुनै मनपर्ने सामान अनलाइनमा उपलब्ध हुन्थ्यो, तब त्यसलाई किन्नका लागि अर्डर गर्दा आफूलाई हलुका र राम्रो महसुस हुन्थ्यो। अर्डर गरेपछि उनले सन्तुष्टि र राहत पाउँथिन्। यद्यपि, कम्पनीप्रति आफ्नो कुनै व्यक्तिगत रिस वा दुस्मनी नरहेको उनले स्पष्ट पारिन्।
रिपोर्टअनुसार ती महिलाले करिब ६ वर्षअघि सो अनलाइन स्टोरबाट सामान किन्न सुरु गरेकी थिइन्। सुरुआतमा उनी सामान किन्थिन् र पार्सल लिने पनि गर्थिन्। तर अक्टोबर २०२३ तिर उनले बारम्बार अर्डर गर्ने र रद्द गर्ने सिलसिला सुरु गरिन्।
करिब दुई वर्षसम्म यो क्रम चलिरह्यो। अन्ततः कम्पनीले लगातार भइरहेको नोक्सानीबारे थाहा पाएपछि प्रहरीमा उजुरी दियो। प्रहरीले अनुसन्धानपछि ती महिलालाई पक्राउ गरेको छ। उनीमाथि ठगीमार्फत व्यवसायमा बाधा पुर्याएको आशङ्का गरिएको छ। महिलाले प्रहरीसमक्ष आफूमाथि लागेका आरोपहरू स्वीकार गरिसकेकी छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment