प्रहरी चौकी परिसरबाटै १८ चक्के ट्रक गायब, ११ लाख रुपैयाँभन्दा बढी जरिवाना तिर्न बाँकी
काठमाडौं । बिहारको मुङ्गेरस्थित प्रहरी चौकीको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न खडा गर्ने एउटा घटना बाहिर आएको छ। यहाँको मुफस्सिल प्रहरी चौकी परिसरबाट १८ चक्के ओभरलोड (क्षमताभन्दा बढी भार बोकेको) ट्रक रहस्यमय तरिकाले गायब भएको छ।
खानी विभागले नियन्त्रणमा लिएको उक्त ट्रकमाथि ११ लाख १८ हजार ६ सय भारतीय रुपैयाँ जरिवाना लगाइएको थियो। करिब एक महिनासम्म प्रहरी चौकीमै राखिएको उक्त ट्रक अचानक गायब भएपछि प्रहरी परिसरबाटै ट्रक कसरी बाहिरियो भन्नेबारे अनुसन्धान सुरु गरिएको छ।
घटनागत विवरणअनुसार जुलाई ३ मा मुफस्सिल प्रहरी चौकी क्षेत्रको तेलिया तालिया नजिकै खानी विभागको टोलीले सवारी जाँच गरिरहेको थियो। त्यसै क्रममा गिट्टी लोड गरिएको १८ चक्के ट्रक नियन्त्रणमा लिइयो।
क्षमताभन्दा बढी गिट्टी राखिएकाले नियम उल्लङ्घन गरेको कसुरमा ट्रकमाथि ११ लाख १८ हजार ६ सय रुपैयाँ जरिवाना तोकियो। त्यसपछि ट्रकलाई सुरक्षित राख्न मुफस्सिल प्रहरी चौकी परिसरमा खडा गरियो। अर्थात्, कागजमा उक्त ट्रक प्रहरीको प्रत्यक्ष निगरानीमा थियो। त्यसपछिको करिब एक महिनासम्म स्थिति शान्त नै रह्यो।
तर, जब खानी विभागको टोली अर्को एउटा सवारी साधन नियन्त्रणमा लिएर मुफस्सिल प्रहरी चौकी पुग्यो, तब यो घटना बाहिर आयो। टोलीले चौकीमा खडा गरिएका गाडीहरूतर्फ ध्यान दिँदा जुलाई ३ मा नियन्त्रणमा लिइएको त्यो १८ चक्के ट्रक त्यहाँ थिएन। प्रहरी चौकीको जिम्मामा छाडिएको ट्रक परिसरबाटै हराएपछि खानी विभागका अधिकारीहरू चकित परे।
लगत्तै विभागले आफ्ना वरिष्ठ अधिकारीहरूलाई खबर गर्यो र मामिला प्रहरीका उच्च पदस्थ अधिकारीहरूसम्म पुग्यो। घटनाको गम्भीरतालाई ध्यानमा राख्दै मुङ्गेरका प्रहरी उपरीक्षक (एसपी) सैयद इमरान मसुदले खानी अधिकारी र मुफस्सिल प्रहरी चौकीका प्रमुख (थानाध्यक्ष) विपिन कुमारसँग सोधपुछ गरे।
खानी विभागका अनुसार ट्रक मुफस्सिल प्रहरी चौकीका पिएटीसी धनञ्जय कुमारलाई बुझाइएको थियो र त्यसको भरपाइ (रिसिभिङ) पनि गराइएको थियो। तर, थानाध्यक्षले भने आफूलाई उक्त ट्रकबारे कुनै जानकारी नै नभएको दाबी गरेका छन्। उनका अनुसार खानी विभागले यस मामिलामा प्रहरीमा कुनै किटानी जाहेरी समेत दर्ता गराएको थिएन।
प्रहरी चौकी परिसरबाटै यति ठूलो ट्रक हराएपछि अहिले अनेकौँ प्रश्नहरू उठेका छन्। यदि ट्रक प्रहरीको जिम्मामा थियो भने त्यो कहाँ गयो? चौकीभित्र राखिएको सवारी साधनको निगरानी कसले गरिरहेको थियो? यदि थानाध्यक्षलाई ट्रकबारे जानकारी थिएन भने चौकी परिसरभित्र राखिएको गाडी कसको जिम्मेवारीमा थियो? र सबैभन्दा ठूलो प्रश्न— प्रहरी चौकीबाटै १८ चक्के विशाल ट्रक बाहिरिँदा कसैले कसरी पत्तो पाएन?
यस मामिलामा मुङ्गेरका एसपी सैयद इमरान मसुदले भने, “करिब एक महिनाअघि खानी विभागले मुफस्सिल प्रहरी चौकीको जिम्मामा छाडेको एउटा ट्रक गायब भएको छ। यस विषयमा थानाध्यक्ष र खानी अधिकारीलाई बोलाएर सोधपुछ गरिएको छ। घटनाको अनुसन्धानका लागि मुख्यालय डिएसपीको नेतृत्वमा समिति गठन गरिएको छ, जसलाई तीन दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।”
एसपी मसुदका अनुसार खानी विभागलाई तत्काल एफआईआर दर्ता गर्न भनिएको छ र प्रहरीले हराएको ट्रकको खोजी तीव्र बनाएको छ। अनुसन्धानका क्रममा दोषी ठहरिने जो-कसैलाई कडा कारबाही गरिने उनले प्रतिबद्धता जनाएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment