शी जिनपिङले कम्युनिस्ट पार्टीको महाधिवेशनमा के-के भने ?

डिसी नेपाल
३० असोज २०७९ १४:०३
52
Shares

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले आइतबार बेइजिङमा भएको कम्युनिष्ट पार्टीको ऐतिहासिक सम्मेलनमा शून्य कोभिड रणनीतिको बचाउ गरेका छन्। यो नीति विभिन्न कारणले विवादमा परेको छ।

पार्टीको महाधिवेशनमा नै सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपतिमा निर्वाचित हुनेछन् । उनले भने, “जिरो कोभिड एक हिसाबले कोरोना भाइरसको फैलावट रोक्नको लागि जनयुद्ध थियो।”

यो रणनीतिले हजारौंको ज्यान बचायो तर चीनका जनता र यसको अर्थतन्त्रमा निकै नराम्रो प्रभाव पारेको थियो। लकडाउन र आवतजावतमा प्रतिबन्धका कारण सर्वसाधारण थकित छन् ।

बेइजिङमा सी जिनपिङ र उनको शून्य कोभिड नीतिको विरोधमा प्रदर्शन भएकाले कम्युनिष्ट पार्टीको यो बैठकअघि सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

आफ्नो भाषणमा सी जिनपिङले ताइवानको मुद्दा उठाएका थिए। चीनले ताइवानलाई आफ्नो हिस्सा मान्छ तर ताइवान सरकारले यसलाई चीनबाट अलग भएको बताएको छ।

जिनपिङले ताइवान चीनको हिस्सा भएको र यसलाई पूर्ण रूपमा गाभ्नका लागि बल प्रयोगलाई नकार्न सकिँदैन भने। ‘देशको पूर्ण एकीकरण आवश्यक छ र हुनेछ,’ उनले भने ।

हङकङको मुद्दामा पनि जिनपिङले यहाँ चीनको धेरै नियन्त्रण रहेको र अहिले यहाँको अवस्था ‘अराजकताबाट शासनतर्फ’ सर्दै गएको बताए ।

सन् २०१९ मा यहाँ प्रजातन्त्र पक्षधर आन्दोलनपछि चिनियाँ सरकारले राष्ट्रिय सुरक्षा कानून लागू गरेको थियो ।

जिनपिङले पार्टीभित्रको विभाजनको मुद्दा उठाए र आफ्नो शासनकालमा पार्टीभित्र लुकेको गम्भीर खतरा हटेको बताए ।

सी जिनपिङले सत्तामा पुगेपछि भ्रष्टाचार उन्मूलनका लागि कडा कदम चालेका छन् । तर आलोचकहरुले राजनीतिक आस्थाका कारण यस्तो कदम चालेको बताएका छन् ।

तेस्रो पटक राष्ट्रपति निर्वाचित भएपछि उनी माओत्सेतुङपछि चीनको सबैभन्दा शक्तिशाली नेता बन्नेछन् । कम्युनिष्ट पार्टीको कांग्रेसमा पार्टीको नेता छान्ने र महत्वपूर्ण नीतिहरू छलफल गर्ने करिब २ हजार ३ सय प्रतिनिधि हुन्छन्।

सी जिनपिङ अहिले तीनवटा महत्वपूर्ण पदमा छन्। उनी चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) का महासचिव, देशको सशस्त्र बलका अध्यक्ष र राष्ट्रपति छन् । उनको कार्यकाल तीनवटै पदमा थपिन सक्नेछ ।

सीसीपीमा कार्यकालमा निरन्तरता दिनको लागि कुनै समयसीमा तोकिएको छैन, तर पार्टीका संस्थापक माओ बाहेक अन्य नेताले तेस्रो पटक पद सम्हालेका छैनन् । अब जिनपिङले यही इतिहास दोहोर्‍याउन लागेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *