स्वतन्त्र उम्मेदवार धर्मराज पोखरेल कांग्रेसबाट निष्कासित
खोटाङ। नेपाली कांग्रेसले खोटाङ प्रदेशसभा (क) मा स्वतन्त्र उम्मेदवारी दिएका महाधिवेशन प्रतिनिधि धर्मराज पोखरेललाई निष्कासन गरेको छ। आसन्न ४ मंसिरमा हुने निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका पोखरेललाई मंगलबार केन्द्रीय अनुशासन समितिले पाँच वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको हो।
पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने, त्यस्ता उम्मेदवारको प्रस्तावक वा समर्थक बसेका ७४ जनामाथि कारबाहीमा पर्दा पोखरेल पनि निष्कासनमा परेका हुन्। गठबन्धनको सिट बाँडफाँड र टिकट वितरणप्रति असन्तुष्टि जनाउँदै प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका कांग्रेसका पूर्वराज्यमन्त्री सर्वधन राई र प्रदेशसभा (क)मा उम्मेदवारी दर्ता गरेका कांग्रेस खोटाङका पूर्वसभापति सुवासकुमार पोखरेलले उम्मेदवारी फिर्ता लिए पनि पोखरेलले उम्मेदवारीलाई निरन्तरता दिएका थिए।
प्रतिनिधिसभा सदस्यमा गठबन्धनबाट माओवादी केन्द्रका रामकुमार राई र प्रदेशसभा ‘क’मा एकीकृत समाजवादीका वीरबलकाजी राई उम्मेदवार छन्। एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको जिल्लामा प्रतिनिधिसभा वा दुई प्रदेशसभामध्ये एक पाउनुपर्ने माग सुनुवाइ नभएको भन्दै कांग्रेस नेता पोखरेलले प्रदेशसभा ‘क’मा स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन्।
गठबन्धनले चुनावी कार्यक्रम गरिरहँदा स्वतन्त्र उम्मेदवार पोखरेल पनि धारा चुनाव चिन्ह लिएर घरदैलोमा व्यस्त छन्। राप्रपा पृष्ठभूमिका पोखरेल कांग्रेसका पूर्वजिल्ला उपसभापति पनि हुन्। सुरुमा स्वतन्त्र उम्मेदवारी दिनका लागि पोखरेललाई उक्साउने अधिकांश कांग्रेस नेता भने गठबन्धनको चुनावीसभामा हिँड्न थालिसकेका छन्।







डिसी नेपाल








Facebook Comment