मोटरसाइकलको सिटभित्र १० लाख लुकाएर ल्याउँदै गरेका भारतीय नागरिक रौतहट प्रहरीको नियन्त्रणमा

डिसी नेपाल
१६ कार्तिक २०८३ २१:४५
4
Shares

रौतहट। रौतहटको सीमावर्ती क्षेत्रमा मोटरसाइकलको सिटभित्र लुकाएर ल्याइएको स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारतको बिहारस्थित मोतिहारी जिल्ला, घोडासहन गाउँका करिब ३३ वर्षीय टुना दास रहेका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार सोमबार बिहान करिब १० बजे बौधिमाई नगरपालिका–७ स्थित बंकुल–नरकटिया सडकखण्डमा सवारी जाँचका क्रममा उनी पक्राउ परेका हुन्। प्रहरी चौकी बंकुलबाट खटिएको टोलीले बाराबाट रौतहटतर्फ आउँदै गरेको बीआर ०५ एएफ ३७८७ नम्बरको भारतीय मोटरसाइकल रोकेर जाँच गर्दा सिटभित्र लुकाइएको अवस्थामा नगद रकम फेला पारेको थियो।

प्रहरीले मोटरसाइकलको सिटभित्रबाट एक हजार रुपैयाँ दरका ५९३ थान र पाँच सय रुपैयाँ दरका ८१४ थान नोट बरामद गरेको छ। बरामद नोटको कुल मूल्य १० लाख रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमले जानकारी दिए।

डीएसपी गौतमका अनुसार बरामद रकमको स्रोत र प्रयोजन खुल्न नसकेपछि नगदसहित दासलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ। रकम कहाँबाट ल्याइएको हो र के प्रयोजनका लागि लगिँदै थियो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको उनले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *