मालपोतका नासुविरुद्ध करिब ९ करोड ७३ लाखको भ्रष्टाचार मुद्दा
काठमाडौं। गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा मालपोत कार्यालय भक्तपुरका नायब सुब्बा यदुनाथ आचार्यविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आचार्यले वैधानिक आम्दानीभन्दा ९ करोड ७२ लाख ७१ हजार ९८९ रुपैयाँ बढी सम्पत्ति आर्जन गरेको ठहर गर्दै आरोपपत्र दायर गरेको हो।
आयोगका अनुसार आचार्य र उनको परिवारको वैधानिक आय ६ करोड २५ लाख ६३ हजार रुपैयाँ रहेकोमा खर्च तथा लगानी १५ करोड ९८ लाख ३५ हजार रुपैयाँ देखिएको छ।
आचार्यमाथि गैरकानुनी सम्पत्ति आर्जनसँगै ९ करोड १९ लाख ८४ हजार ५७६ रुपैयाँ बराबरको सम्पत्ति शुद्धीकरण गरेको आरोपसमेत लगाइएको छ।
मुद्दामा उनकी पत्नी ललिता राजभण्डारी, छोरीहरू निलु र सरू आचार्य तथा प्रभा बस्नेत र कुमारी कटुवाललाई पनि प्रतिवादी बनाइएको छ। आयोगले पत्नी र अन्य प्रतिवादीमाथि पनि सम्पत्ति शुद्धीकरण तथा भ्रष्टाचारमा सहयोग गरेको आरोप लगाउँदै सजाय र सम्पत्ति जफतको माग गरेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment