स्पष्टीकरणको शृङ्खला जारी, आंशिक प्राध्यापकको करार प्रक्रिया रोक्न निर्देशन

डिसी नेपाल
२४ कार्तिक २०७९ ७:१७
24
Shares

काठमाडौं। निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०७९ को उल्लङ्घनका सूचना र उजुरीका आधारमा निर्देशन दिने र स्पष्टीकरण सोध्ने क्रमलाई निरन्तरता दिएको छ।

आयोगले त्रिभुवन विश्वविद्यालयअन्तर्गतको सानोठिमी क्याम्पस, भक्तपुर समेतका क्याम्पसमा निर्वाचन आचारसंहिता, २०७९ लागू भइसकेपश्चात् विज्ञापन खोली आंशिक प्राध्यापकलाई करार गर्ने प्रक्रिया तत्काल बदर गर्न निर्देशन दिएको छ।

आयागले विश्वविद्यालयको रजिष्ट्रारको कार्यालय र उक्त क्याम्पसलाई करार गर्ने प्रक्रिया तत्काल बन्द र बदर गर्न निर्देशन दिएको हो। आयोगले उक्त क्याम्पस प्रमुखलाई सो विषयमा स्पष्टीकरण पनि सोधेको छ।

गत असोज १२ गतेदेखि आचारसंहिता लागू भइसकेको अवस्थामा आंशिक प्राध्यापकलाई करार गर्ने गरी अगाडि बढाइएका प्रक्रिया आचारसंहिताको प्रतिकूल हुने आयोगको ठहर छ।

“उल्लेखित सन्दर्भमा यदि त्यस विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा आंशिक प्राध्यापकलाई करार गर्ने प्रक्रिया अगाडि बढेको अवस्था भए तत्काल ती प्रक्रिया बदर गर्ने व्यवस्था हुन निर्णयानुसार अनुरोध छ। साथै यस पत्रमा आवश्यक कारवाही गरी तीन दिनभित्र सोको जानकारी आयोगलाई गराउनसमेत अनुरोध छ”, पत्रमा भनिएको छ।

आयोगले उक्त क्याम्पसका प्रमुखलाई करार भर्ना प्रक्रिया स्थगित गरी स्पष्टीकरण पेश गर्न बेग्लै पत्राचार गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.