८० वर्षीय केसीको चौथो पटकको संसद यात्रा

डिसी नेपाल
७ मंसिर २०७९ १६:०९
200
Shares

गलकोट । बागलुङ निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी विजयी भएका। वाम लोकतान्त्रिक गठबन्धका साझा उम्मेदवार केसी दुई हजार ६ सय २६ मतले नेकपा (एमाले)का सूर्य पाठकलाई पराजित गरेका छन् ।

केसीले ५४ हजार सात सय ११ मतमध्ये २१ हजार चार सय ५१ मत प्राप्त गरेर विजयी भएको मुख्य निर्वाचन अधिकृत डा दिवाकर भट्टले जानकारी दिए । एमालेका पाठकले १८ हजार आठ सय २५ र राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले नौ हजार एक सय ८१ मत प्राप्त गरेका छन् ।

उमेरले ८० वर्ष पुगेका केसीको राजनीतिक जीवनमा धेरै उतारचढाल रह्यो । विसं २०५६ र २०६४ को चुनावमा प्रत्यक्ष निर्वाचित भएका केसी २०७० को संविधानसभा निर्वाचनमा समानुपातिक तर्फबाट सांसद बनेका थिए । केसीको यो चौथो पटकको संसद यात्रा हो ।

विसं २०५१ सालको आम निर्वाचनमा केसी बागलुङ क्षेत्र नं २ बाट प्रतिनिधिसभाको सदस्यको उमेदवार भए पनि उनी पराजित भए । त्यसपछि २०५६ सालको संसदीय निर्वाचनमा उनी यही क्षेत्रबाट संसद चुनिए । तत्कालीन समयमा उनले नेपाली कांग्रेसका गोपाल सापकोटालाई पराजित गरेका थिए । विसं २०६४ को संविधानसभा सदस्यमा केसीले नेपाली कांग्रेसका मणिभद्र शर्मा कँडेललाई पराजित गरेर निर्वाचित भएका थिए । केसीले २०७४ सालमा भने चुनाव लडेनन् ।

केसी २०७२ साल कात्तिक १९ मा ७५ वर्षको उमेरमा उपप्रधानमन्त्री एवं सहकारी तथा गरिबी निवारण मन्त्री बनेका थिए। राजनीतिक भाषण तथा अन्तर्वार्तामा उखान टुक्का मिसाएर बोल्ने उनको शैली मन पराउनेको सङ्ख्या धेरै छ । केसीले राजनीतिक यात्रामा १९ वर्ष भूमिगत जीवन बिताएका थिए । उनले ९ महिना जेल जीवन बिताएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.