धनुषामा जग्गा विवाद हुँदा प्रभु यादवको मृत्यु, ६ जना पक्राउ

डिसी नेपाल
१६ मंसिर २०७९ १३:२१
120
Shares

काठमाडौं। जग्गाको विषयमा विवाद हुँदा धनुषामा एकजनाको मृत्यु भएको छ। प्रहरीले घटनामा संलग्न ६ जनालाई पक्राउ गरेको छ।

धनुषाको मिथिला बिहारी नगरपालिका-४ रमौल बस्ने ५३ वर्षीय प्रभु यादव र ४२ वर्षीय सुरज यादवबीच जग्गा जमिनको विषयमा विवाद हुँदा बिहीबार राति प्रभु यादवको मृत्यु भएको हो। कुटपिटबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

बिहीबार राति खाना खाएर बसिरहेका बेला सुरज यादव समूहले आएर प्रभु यादव र उनका परिवारमाथि कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन्।

घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषा, इलाका प्रहरी कार्यालय धनुषाधाम, इलाका प्रहरी कार्यालय सबैला र प्रहरी चौकी ललियाबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न सोही ठाउँ बस्ने २७ वर्षीय गणेशकुमार यादव सहित ६ जनालाई पक्राउ गरेको छ।

साथै कुटपिटबाट घाइते भएका ३० वर्षीय जगरनाथ यादवसमेत तीनजनाको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

खेतको आलीको विषयमा दुई महिनादेखि उनीहरुबीच विवाद हुँदै आएको प्रारम्भिक अनुसन्धानमा देखिएको धनुषाका प्रहरी नायव उपरीक्षक दिपक रायले जानकारी दिए। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *