स्थगित परीक्षा पुनः संचालन गर्न खोज्दा तनाव, प्रहरी-स्थानीय झडप
सप्तरी। सप्तरीको बलान बिहुल गाउँपालिका–६ स्थित जागेश्वर गहिराइ जनता माध्यमिक विद्यालयमा शिक्षक तथा कर्मचारी भर्नाका लागि स्थगित परीक्षा पुनः सञ्चालन गर्न खोज्दा शनिबार तनाव उत्पन्न भएको छ।
परीक्षा सञ्चालन गर्ने विषयमा स्थानीय बासिन्दा र सुरक्षाकर्मीबीच विवाद हुँदा झडपको स्थिति बनेको छ। विद्यालयको मूल ढोका (गेट) खोल्ने क्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र गाउँ प्रहरीसँग स्थानीयको विवाद भएको थियो। त्यसक्रममा केही व्यक्तिमाथि कुटपिटसमेत भएको स्थानीयले दाबी गरेका छन्।
विद्यालयले प्लस टुतर्फ लेखा र अङ्ग्रेजी विषयमा एक–एक जना तथा प्राविधिक धारतर्फ प्रशिक्षक, सहायक प्रशिक्षक र प्रशिक्षण सहायक पदमा करार नियुक्तिका लागि छनोट परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो।
यसअघि गत बुधबारका लागि तय गरिएको परीक्षा विवादका कारण स्थगित भएको थियो। तर, शनिबार पुनः परीक्षा सञ्चालन गर्न खोजिएपछि आक्रोशित स्थानीयहरू विद्यालय परिसरमा भेला भई विरोधमा उत्रिएका थिए।
भर्ना प्रक्रियामा ठूलो आर्थिक चलखेल र ‘सेटिङ’ भएको आरोप लगाउँदै बलान बिहुल–६ का वडाध्यक्ष सूर्यकुमार दासले विद्यालयको प्रशासन कक्षमा तालाबन्दी गरिदिएका छन्।
वडाध्यक्ष दासले विद्यालयका प्रधानाध्यापक भोला यादव, व्यवस्थापन समिति अध्यक्ष तथा छनोट समिति संयोजक नथुनी दास र शिक्षा समन्वय तथा विकास कार्यालय सप्तरीका प्रमुख शशिकुमार यादवबीच मिलेमतो रहेको आरोप लगाएका छन्।
परीक्षा प्रक्रियालाई पारदर्शी र निष्पक्ष बनाउन माग गर्दै उनले गत मङ्गलबार शिक्षा समन्वय कार्यालय सप्तरी परिसरमा धर्नासमेत दिएका थिए ।
विवादपछि स्थिति नियन्त्रणमा लिन विद्यालय परिसरमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment