बैतडी युवती हत्या घटना : हत्याका आरोपित महेन्द्रनगरबाट पक्राउ

डिसी नेपाल
१८ मंसिर २०७९ १४:४३
192
Shares

महेन्द्रनगर। बैतडीको पञ्चेश्वर गाउँपालिका-४ की २१ वर्षीया माया लुहारको हत्यामा संलग्न भएको आरोप लागेका सशस्त्र प्रहरी जवान भरतराम कोली कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ परेका छन्। कोली आज महेन्द्रनगरस्थित बसपार्क क्षेत्रबाट पक्राउ परेका हुन्।

प्रहरी निरीक्षक भरत गिरीका अनुसार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले हत्यामा संलग्न रहेको आरोप लागेका बैतडीको शिवनाथ गाउँपालिका-४ घर भएका सशस्त्र प्रहरी जवान कोलीलाई पक्राउ गरेको हो।

बिदामा घर आएका बखत मायाको हत्या गरेको कोलीमाथि आरोप छ। मायाका परिवारजनले कोलीविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएपछि उनको खोजी भइरहेको थियो।

यही मङ्सिर १३ गते मायाको बैतडीमा घाँटी रेटेर हत्या गरिएको थियो। मायाको साथमा रहेकी नेहा लुहारको समेत घाँटी रेटेर हत्याको प्रयास गरिएको थियो।

घाइते अवस्थामा भेटिएकी नेहाको हाल उपचार भइरहेको छ। बैतडीको शिवनाथ गाउँपालिका-६ स्थित शिवनाथ मन्दिर नजिकै मायाको शव फेला परेको थियो भने नेहा घाइते अवस्थामा भेटिएकी थिइन्।

कास्कीको पोखरास्थित हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालयमा कार्यरत कोली बिदामा घर आएका बेला उक्त घटना घटेको हो। घटना लगत्तै कोली गाउँबाट फरार रहेपछि हत्यामा उनको संलग्नता रहेको आशंका गरिएको थियो।

प्रहरी श्रोतका अनुसार प्रारम्भिक बयानमा कोलीले मायाको हत्या गरेको स्विकार गरेका छन्। जिल्ला प्रहरी कार्यालय बैतडीमा मुद्दा चलिरहेकाले कोलीलाई आजै बैतडी पठाउने तयारी गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *