प्रतिनिधिसभाको समानुपातिकमा कांग्रेसका पुरुषतर्फ तीन जनामात्रै
काठमाडाैं। नेपाली कांग्रेसले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फको एक सय १० सिटमध्ये ३२ सिट प्राप्त गरे पनि पुरुष सांसद निर्वाचित गर्न तीन जनाको नाममात्र छनोट गरेको छ।
प्रत्यक्षतर्फ कुल एक सय ६५ सिटमध्ये कांग्रेसका एक महिलामात्र निर्वाचित भएको र सङ्घीय संसद्मा महिला प्रतिनिधित्व ३३ प्रतिशत पुर्याउनुपर्ने संवैधानिक प्रावधानका कारण समानुपातिकमा पुरुष सङ्ख्या कम छनोट गर्नुपरेको हो।
कांग्रेस पदाधिकारी बैठकले प्रतिनिधिसभातर्फको समानुपातिक सांसद हुनेहरूको नाम शनिबार टुङ्गो लगाई निर्वाचन आयोगमा बुझाएको सहमहामन्त्री जीवन परियारले जानकारी दिए। कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फ दलित क्लष्टरबाट जीवन परियार, खसआर्यबाट डा प्रकाशरण महत र मधेसीबाट विमलेन्द्र निधिको नाम टुङ्गो लगाएको छ।
प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कांग्रेसबाट एक जना महिलामात्र निर्वाचित भएको र राष्ट्रियसभा हाल कांग्रेसका दुई महिला सदस्यमात्र रहेकाले समानुपातिकतर्फ २९ जना महिलाको नाम पठाएको पार्टी कार्यालयले जनाएको छ।
प्रतिनिधिसभामा समानुपातिकतर्फबाट कांग्रेसले खसआर्यबाट अम्बिका बस्नेत, सरिता प्रसाईँ, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाँण, रमा कोइराला पौडेल, कान्तिका सेजुवाल, मैना रावल कार्की र डा प्रकाशशरण महतलाई चयन गरेको छ।
यसैगरी आदिवासी जनजातितर्फ सरस्वती बजिमय, लीलादेवी बोखिम (लिम्बू), सीताकुमारी राना, सुशीला थिङ, सपना राजभण्डारी, माया राई, कुसुम थापामगर, मनोरमा शेरचनको नाम आयोगमा पठाएको छ भने मधेसी क्लष्टरबाट नागिना यादव, मुक्ताकुमारी यादव, चन्दा चौधरी, सङ्गीता मण्डल, नीनुकमारी कर्ण र विमलेन्द्र निधिको नाम पठाइएको छ।
दलिततर्फबाट शान्ति विक, रुपा विक, सीता मिजार, आशा विक, जीवन परियार चयन हुनुभएको छ भने थारुबाट कल्पना चौधरी र बिनाकुमारी थनेत तथा मुस्लिमबाट जावेदा खातुन जागाको नाम पठाइएको पार्टी कार्यालयले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment