चार्ल्स शोभराजलाई किन ‘बिकिनी किलर’ भनिन्छ ? यस्तो छ उनको अपराधको वृत्तान्त
काठमाडौं । सर्वोच्च अदालतले सिरियल किलर चार्ल्स शोभराजलाई रिहा गर्न आदेश दिएको छ । चार्ल्स शोभराजलाई अदालतले सन् २००३ मा जन्मकैदको सजाय सुनाएको थियो । सर्वोच्च अदालतले शोभराजलाई उमेरका आधारमा रिहा गर्ने निर्णय गरेको हो । उनी ७८ वर्षका छन् । अदालतले उनलाई १५ दिनभित्र स्वदेश फिर्ता पठाउन पनि आदेश दिएको छ ।
चार्ल्स शोभराजकी आमा भियतनामकी र बुबा भारतीय थिए। शोभराजको जन्म ६ अप्रिल १९४४ मा भियतनामको साइगनमा भएको थियो । त्यतिबेला भियतनाम फ्रान्सको कब्जामा थियो । फ्रान्सले कब्जा गरेको देशमा जन्मिएका शोभराजसँग फ्रान्सको नागरिकता छ । शोभराजलाई ‘द सर्पेन्ट’ र ‘बिकिनी किलर’ पनि भनिन्छ ।
चार्ल्स शोभराज सन् २००३ देखि काठमाडौं कारागारमा छन् । उनलाई अमेरिकी महिला कोनी जो ब्रोन्जिचको हत्यामा आजीवन कारावासको सजाय सुनाइएको थियो । चार्ल्सले सन् १९७५ मा नेपालमा कोनीको हत्या गरेका थिए । शोभराज सन् २००३ को अगस्टमा काठमाडौंको क्यासिनोबाट पक्राउ परेका थिए ।
यसपछि सन् २०१४ मा क्यानेडियन नागरिक लौरेन्ट क्यारियरको हत्यामा उनलाई दोषी ठहर गरिएको थियो । यो मुद्दामा पनि उनलाई आजीवन कारावासको सजाय सुनाइएको थियो । नेपालमा आजीवन कैद २० वर्ष हो ।
चार्ल्स शोभराजले प्रायः विदेशी पर्यटकलाई निशाना बनाएका थिए । उनीमाथि २० भन्दा बढी मानिसको हत्या गरेको आरोप छ । उनी यी पर्यटकहरूसँग मित्रता गर्थे। उनीहरुलाई लागुऔषध खुवाएर हत्या गरी सामान लुट्ने गरेका थिए ।
सर्वोच्च अदालतको दुई न्यायाधीशको इजलासले चार्ल्स शोभराजलाई रिहा गर्न आदेश दिएको हो । शोभराजले रिहा गर्न माग गर्दै निवेदन दिएका थिए । उनले आफूले सुनाइएको सजाय भोगिसकेकाले रिहा गर्नुपर्ने दाबी गरेका थिए । नेपालको कानुनअनुसार कुनै कैदीले ७५ प्रतिशत कैद पूरा गरेको र व्यवहार राम्रो भएमा रिहा गर्न सकिने व्यवस्था छ ।
शोभराजले आफ्नो निवेदनमा नेपाली कानुनबमोजिम ज्येष्ठ नागरिकलाई दिएको ‘सहुलियत’का आधारमा रिहा गर्नुपर्ने दाबी गरेका थिए । उनले आफूले २० वर्ष कैदको १७ वर्ष काटेको दाबी गरे।
चार्ल्स शोभराज भेष बदल्नमा विशेषज्ञ थिए। उनले पर्यटक र महिलालाई लक्षित गरेका थिए । उनीविरुद्ध भारत, नेपाललगायत देशमा दर्जनौं हत्याका मुद्दा दर्ता छन् । शोभराज सन् १९७६ मा दिल्लीमा पक्राउ परेका थिए । उनलाई दिल्लीको तिहाड जेलमा राखिएको थियो । शोभराज सन् १९८६ मा जेलबाट भागेका थिए ।
चार्ल्स शोभराजले सन् १९७० को दशकमा १५ देखि २० जनाको हत्या गरेको अनुमान गरिएको छ । एक पटक दुई महिलाको शव भेटिएको थियो र उनीहरूले बिकिनी मात्र लगाएका थिए। त्यसैले चार्ल्स शोभराजलाई ‘बिकिनी किलर’ पनि भनिन्छ ।
उनले तिहाड जेलमा जन्मदिनको पार्टी राखेको बताइएको छ । उनले यो पार्टीमा बाँडेको मिठाई र केकमा बेहोशीको औषधि मिसाइएको थियो । उनले कारागारका गार्डलाई पनि मिठाई खुवाए र बेहोस बनाएर जेलबाट भागे ।
तर, २२ दिनपछि मात्रै उनी गोवाको क्यासिनोबाट फेरि पक्राउ परे । त्यसबेला शोभराजलाई कुनै पनि मुद्दामा दोषी ठहर गरिएको थिएन। उनी सन् १९९७ मा तिहाड जेलबाट रिहा भएका थिए ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment