कथा : बेसाहा लोग्ने

खेमराज पोखरेल
२३ पुष २०७९ ७:०३

ऊ मेरो अँगालोमा छे। हामी दुवै स्खलित भइसकेका छौँ। स्खलनपछि न ऊ बोलिरहेकी छे, न म। न उसलाई निद लागेको छ, न मलाई। उसले उठेर पानी खाएकी छे। सायद यो सगोलको आखिरी स्खलन भएर पनि होला। मैले उसलाई उदास मुद्रामा सोधेको छु- देवयानी! निद लागेन?

सम्झिरहेको छु त्यो दिन। सिकागोबाट प्लेन चढेर डालसको डिएफडब्ल्यु एयरपोर्टमा लगेज घिसार्दै आएकी थिई ऊ। रेब्यानको कालो चस्मा, नाइकीको जुत्ता, गुलाबी रङ्को ज्याकेट, काउब्वायको ह्याट, र र्याङलरको जिन्स प्यान्ट लगाएकी थिई उसले। नवआधुनिक अमेरिकी सुन्दरी देखिएकी थिई।

त्यो बेला मनमनै सोचेको थिएँ-यो केटी थेगिसक्नुकी छैन। थामिसक्नुकी पनि छैन। फोटो तथा भिडियोमा देखिएकी जस्ती छैन। मेसेन्जरमा कुरा गरेअनुसारकी शालीन छैन। के गर्ने बोलाइ हालियो। अमानवीय हुन पनि भएन। फसान फसियो कि जस्तो छ। उफ! अहिले अपसोस लागिरहेको छ कि गर्लफ्रेन्डको के कमी थियो र मलाई? किन उसलाई बोलाएँ कुन्नि?

मनजिक आएकी थिई। र, मेरो सोचाइलाई क्रमभङ्ग गर्दै भनेकी थिई-हेलो क्रिस! चिनेनौ? म देवयानी।

एकछिन अकमकाएर अनि उसको हातमा भएको लगेज समात्दै भनेको थिएँ–तिमीलाई नै लिन त आएको। अनि किन नचिन्नु नि? एकपल तिमीलाई हेरिरहेको पो त! तिम्रो सुन्दरतालाई परख गरिरहेको पो त!

ऊ लामो यात्राको थकान हाँसो हाँसेकी थिई। याने थकित मुस्कुराएकी थिई।

सन्चबिसन्च खालका औपचारिक कुरा गर्दै गाडीमा चढेका थियौँ। म गाडी हाँक्दै थिएँ। ऊ नजिकै बसेकी थिई। उसको शरीरबाट आएको फ्रान्सेली अत्तरको सुगन्ध मेरा नाकमा ठोकिएको थियो। सोचिरहेको थिएँ–क्या तालकी केटी होली यो? नेपाली बोलेर मात्र नेपाली होइन्छ र? नेपालमा जन्मेर मात्र नेपाली होइन्छ र? अमेरिका आउनेबित्तिकै यति विधि गरिहाल्नु पर्छ र? यसको नापनक्सा र ताल देखेर कसले नेपाली भन्छ र?

तर मैले उसलाई केही भनिनँ। केही सोधिनँ।

मेरो सिङ्गल बेड एपार्टमेन्ट आइपुगेको थियो। लिफ्टबाट १२ औँ तलामा रहेको मेरो एपार्टमेन्ट पुगेका थियौँ। झमक्क साँझ परेको थियो। कोठा त्यति मिलाइएको थिएन। हुनत ऊ आउने भन्नेबित्तिकै मैले सकेको सफा गरेकै थिएँ।

मिलाएको पनि थिएँ। तर मेरो कोठा ऊमाफिकको सफा भने पक्का थिएन। म एक्लै नाङ्गा नाचे मैदान भनेझैँ थियो मेरो कोठा। ढोका खोलेर भित्र पस्नेबित्तिकै उसले मेरो कोठालाई तालिम प्राप्त प्रहरीले खानतलासी गरेझैँ हेरेकी थिई। मैले उसलाई यसैबेला भनेको थिएँ–देवयानी! तिमी लुगा फेर म बैठक कोठामा जान्छु।

ऊ मुसुक्क मुस्कुराइरहेकी थिई। मानौँ ऊ नवविवाहित दुलही भएर आएकी हो यो एपार्टमेन्टमा।
उसले लुगा फेरेकी थिई र किचेनमा पुगेर खानेकुरा हेर्दै भनेकी थिई– क्रिस! एकदम भोक लागेको छ। बाटोमा भनेजस्तो खान पनि पाइएन। केही खाऔँ।

सुत्ने बेला भएको थियो। मैले भनेको थिएँ-देवयानी! तिमी बेडमा सुत। म बैठकको सोफामा सुत्छु। अनि उसले एक छिन गम्भीर भएर भनेकी थिई-म तिमीलाई बेड छोडेर सोफामा सुताउन आएकी हो र? धेरै नक्कल नपार क्रिस। कुराको छिनोफानो त फोनमै भइसकेको छ नि।

वास्तवमा फोनमै ऊ र म सम्बन्धसहितको लिभिङ टुगेदरमा बस्ने भन्ने सहमति भएको थियो।

नाइटीमा उसको शरीरलाई नियालेको थिएँ। शरीर कङ्काल जस्तै सिक्रे थियो। रङ पनि मेरो इच्छामाफिकको थिएन। समग्रमा उसमा कुनै आकर्षण थिएन। म सोचिरहेको थिएँ-केही दिन यसलाई बस्न दिनु पर्ला। अनि कुनै बहाना बनाएर कतै पठाइदिनु पर्ला। त्यसो गर्न मैले उसलाई छुनु त पक्का हुँदैन। नत्र त त्यही छोएको कुरालाई महिलाले तिललाई पहाड बनाइदिन्छन्। किनकि यो अमेरिकी कानुन र समाज महिलामुखी छ। पीडित महिलाको कुरा सुन्छ । तर पीडित पुरुषको कुरा सुन्दैन।

उसले भनेकी थिई-क्रिस! आऊ सुतौँ। धेरै सोच्नु नै छैन। सम्झ म तिम्री गर्ल फ्रेन्ड हुँ। तिमी मेरो ब्वाइफ्रेन्ड हौ। यसरी सोचे पनि हुन्छ कि तिमी र म भाडाका लोग्ने स्वास्नी हौँ। एक पल्टको जुनी हो, के फरक पर्छ र?

म भने अझै तयार थिइनँ। फस्नु हुँदैन भन्ने लागिरहेको थियो।
तर उसले भनेकी थिई-तिमी धन्दा नमान। तिम्रो अनुकुल हुन सकिनँ भने म आफैँ निस्किएर जान्छु। तिमीलाई कुनै समस्यामा पार्दिनँ।

मैले भनेको थिएँ-हेर देवयानी! तिमीले र मैले यौनक्रिया गर्नुपर्छ भन्ने छैन। म तिमीलाई अमेरिकामा स्थापित गर्नका लागि बिनाशर्त सहयोग गर्छु। त्यसमा तिमीले धन्दा नमान। तिमी बेडमा सुत, म सोफामै सत्छु। मलाई यौनसमन गर्नका लागि गर्लफ्रेन्डको कुनै कमी छैन। म तिम्रो परिवेश तथा अवस्थाको फाइदा उठाएर यौनकर्म गर्दिनँ।

अनि उसले भनेकी थिई-यस्तो वाइह्यात कुरा नगर क्रिस। कृत्रिम कुरा नगर। आदर्शवादी कुरा नगर। आदर्शले संसार थेग्दैन। यो संसार स्वार्थैस्वार्थले भरिएको छ। स्वार्थ पूरा भएन भने लोग्नेस्वास्नीले त एकअर्कालाई माया गर्दैनन्। गम्भीर भएर सोच्यौ भने आमाको माया त स्वार्थमा अडिएको हुन्छ। आमाले आफ्नै सन्तानलाई कसैलाई काखा र कसैलाई पाखा पारेको देखेका छौ नि? बिनास्वार्थ तिमीले मलाई किन सहयोग गर्ने? मैले तिमीलाई किन सहयोग गर्ने? त्यसैले राम्ररी बुझ्यौ भने स्वार्थको इक्विलिब्रियम सम्बन्ध हो। त्यो सम्बन्धको अर्को नाम समाज हो।

मैले उसलाई अचम्म मान्दै हेरेको थिएँ। उसले गम्भीर विषय उठाएकी थिई। मेरा दिमागमा लगातार प्रश्न आइरहेको थियो कि के सबै सम्बन्धहरू स्वार्थका उपज हुन्? अनि मैले उसैलाई सोधेको थिएँ- देवयानी! भन त, मसँग यहाँ आउनुमा तिम्रा के स्वार्थ छन् ? अनि तिमीलाई यहाँ बोलाउनु मेरो के स्वार्थ छ?

‘कुरो प्रस्टै छ नि। तिमी एउटा स्थायी खालको गर्लफ्रन्डको ताकमा थियौ। म पनि एउटा ब्वाइफ्रेन्डको ताकमा थिएँ। प्रमुख स्वार्थ त त्यही भयो नि होइन र?’ उसले एकै श्वासमा भनेकी थिई।

वास्तवमा यो कुरा पनि मेसेन्जरमा भएको थियो।

मैले पन्छिन् हिसाबमा भनेको थिएँ- ‘तिमी विवाहित होइनौ र ? तिमीले त्यसरी ब्वाइफ्रेन्ड बनाएको समाजले पचाउँछ त?’
उसले भनेकी थिई-तिमी पनि विवाहित होइनौ र? तिमीले हाकाहाकी गर्लफ्रेन्ड राखेँ भन्न हुने, राख्न हुने मैले किन नहुने? के म महिला भएर जन्मने प्रक्रिया र तिमी पुरुष भएर जन्मने प्रक्रिया फरकफरक हो र?

म निरुत्तर भएको थिएँ ।

अनि उसले नै भनेकी थिई- क्रिस! जिन्दगी कथाहरूको सँगालो हो। ती कथाभित्र धेरै उपकथाहरू हुन्छन्। परिवेश तथा समयले अनेकन उपकथा बनाइदिन्छन्। कथा वा उपकथाका व्याख्या अलगअलग हुन्छन्। आफूलाई मन लागे जस्तै व्याख्या हुन्छन्।

त्यसपछि उसले आफ्नै उपकथा भन्न थालेकी थिई।

म अलि खुला परिवारमा जन्मिएकी हुँ। मेरा बाबुआमा रातिराति सधैँ जसो नीला सिनेमाहरू हेर्नु हुन्थ्यो। म १३ वर्षकी हुँदादेखि नै लुकीलुकी सोही सिनेमा हेर्थेँ। स्वाभाविक थियो कि तत्कालीन समाजमा मलाई उत्ताउली भनिन थालिएको थियो। १६ वर्ष पुग्दानपुग्दै मेरो बिहे भयो। २० वर्ष पुग्दा नपुग्दै मैले २ छोरी र १ छोरा पाएँ।

मेरो लोग्ने कट्टरपन्थी तथा सामन्त परिवारमा जन्मिएको थियो। बाहिरबाहिर चाहाथ्र्यो। मसँग भने ऊ फितलो थियो। तर ऊ आफ्नो फितलोपनलाई ममाथि भौतिक तरिकाले दण्ड दिएर लुकाउँथ्यो। म पतिब्रता थिएँ। तर ऊ मलाई वेश्या भन्थ्यो। हामी प्राय सधैँ झगडा गथ्र्यौँ। बहाना जे भए पनि झगडाको प्रमुख कारण यौन थियो। यौन कै कुरा नमिलेपछि तरकारी काँचो थियो भनेर पनि झगडा हुने गथ्र्यो।

म आजित भएकी थिएँ जिन्दगीसँग। त्यसैले त्यो लोग्नेसँग छुटकारा पाउन मैले मेरा आफन्तको आमन्त्रणमा अमेरिका जाने निधो गरेँ। भिसा लागेको दिन मेरो लोग्ने खुसी भएको थियो। किनभने उसको रबाफले सम्पत्ति स्वहा भइसकेको थियो।

अब ऊ मैले अमेरिका गएर पैसा पठाओस् भन्ने चाहन्थ्यो। म अमेरिका आएर आफन्तकोमा बसेकी थिएँ। अमेरिकाको डलर कहाँ थियो? मलाई केही मेसो थिएन। मेरा आफन्तले ६ महिनासम्म घरमा राखे। बुहारी सुत्केरी उकासेँ। भाँडा माझेँ । लुगा धोएँ । खान बस्न त पाइयो। तर डलर?

६ महिनापछि म रित्तो हात फिर्ती टिकटको सहाराले म मेरो मातृभूमि नेपाल फर्केँ। मेरो रित्तो हात देखेर लोग्ने एकदम रिसायो। लोग्नेले मलाई भन्यो-एउटा गोरासँग सुतेरै भए पनि अमेरिकामा डलर कमाउनु पर्दैनथ्यो? छोराछोरी रुँदै भन्न थाले-आमा अमेरिकामा पुगेपछि हामीलाई पनि अमेरिका जाने बाटो खुल्छ भनेको त!

आमा खोइ तपाईँलाई हाम्रो भविष्यको चिन्ता? तपाईँ त लुसुक्क नेपाल फर्किनुभयो।

उफ ! स्वार्थैस्वार्थले भरिएको संसार। कस्तो विचित्रको संसार! अचम्म लागेर आयो। पैसाको लागि लोग्ने आफ्नी स्वास्नीलाई अर्कासँग सुत् भन्छ। छोराछोरी त मेरो कुरा बुझ्दैनन् भने कसले मेरो समस्या बुझ्छ र यो संसारमा?

अनि अमेरिकामै छँदा चिनिएकी लिम्बुनी दिदीले भनेको सम्झेँ- बहिनी! आफ्नै खुटटामा नउभिई अमेरिकामा टिक्न सकिन्न। आफ्नै गाडी, लाइसेन्स, सोसल सिक्योरिटी, नभै जागिर पाइन्न। त्यसको लागि समय दिनु पर्छ कसैले। कसले दिने तिमीलाई त्यो समय? बहिनी! यो स्वार्थको संसार हो। व्यापार गर्छ समाजले। वैश्य युग हो। सिप हुनेले सिप बेच्छन्। पढाइ हुनेले पढाइ बेच्छन्। धन हुनेले धन बेच्छन्। तिमीसँग जे छ त्यो नबेची तिमी बाँच्न सक्दिनौ।

भिसा छँदै थियो। म टिकटको पैसा सापटी लिएर पुनः अमेरिका फिरेँ। ती लिम्बुनी दिदी तिम्रो गाउँले रहिछन्। तिनले मलाई सुनाएकी थिइन् कि तिमीले गर्लफ्रेन्डका नाममा सबै कमाइ ध्वस्त बनायौ रे। अनि तिमी अब एउटा कम खर्चिलो सकभर नेपाली नै स्थायी प्रकृतिको गर्लफ्रेन्डको ताकमा छौ रे। दिदीले तिम्रो र मेरो परिचय गराइदिइन्। परिणाम बिनाहिच्किचाहट सोचिसमझी म तिम्रो अँगालोमा आइपुगेकी छु। कुनै पश्चाताप वा निराशा वा असन्तुष्टि छैन। जिन्दगीको खेल हो। खेलका प्यादा हौँ हामी। अब बुझ्यौ कुरा?

मैले उसका यी भनाइहरूलाई चुपचाप मोबाइलमा रेकर्ड गरेर कैद गरेको थिएँ। ताकि भोलि केही भइहाल्यो भने त्यही रेकर्डमा उसका भनाइ सुनाएर झन्झटबाट मुक्त हुने सुर थियो मेरो।

म ऊसँग सुत्न बेडमा चढेको थिएँ। मेरो नाङ्गै सुत्ने बानी थियो । मैले अन्डरवियर लगाएको देखेर उसले भनेकी थिई—तिमी सधैँ नाङ्गै सुत्छौ होइन र?

हो, मेसेन्जरमा यो कुरा पनि भएकै थियो।

मेरो सोचाइलाई निकम्मा बनाउँदै ऊ सहवासमा जब्बर निक्लेकी थिई। मलाई अचम्म लागिरहेको थियो। मेरा सम्पर्कमा आएका नेपाली महिला यस्ता जब्बर खाले कोही पनि थिएनन्। यति खुला थिएनन्। मेक्सिकन, अमेरिकन तथा अरबियनको भने कुरा छुट्टै हो।

सहवासपछि ऊ उठेकी थिई। बाथरुम छिरेकी थिई। र बाहिर आएर भनेकी थिई—क्रिस ! झन्डै बिर्सेकी नि।

त्यसपछि उसले आफ्नो लगेज खोलेकी थिई। म सोचिरहेको थिएँ सायद कुनै गिफ्ट लिएर आएकी होली। तर उसले लगेजबाट एउटा स्पेसल बटुको निकालेकी थिई। त्यसमा मिनरल वाटर हालेकी थिई। र आफ्नो मुखबाट दाँत निकालेर सोही कचौरामा हालेर राखेकी थिई। उसको दाँतबिहीन मुख निकै बुढो देखिएको थियो। अनि मैले तत्काल सोधेको थिएँ—देवयानी! के भएको तिम्रो दाँतलाई?

उसले मतिर नहेरी भनेकी थिई-लोग्नेले आग्लाले कुटेर झारिदिएको नि।

मलाई ऊप्रति धेरै सहानुभूति जागेर आएको थियो। कल्पँदै थिएँ कि यो रूप, रङ, उमेर सबै बेकार रहेछन्। त्यति धेरै यातना खपेर पनि ऊ हाँसिरहेकी थिई। तर जिन्दगीका प्रति ऊ यथार्थवादी थिई।

म स्तब्ध भएको थिएँ।

उसले नाइटीलाई घुँडासम्म तानेकी थिई। उसको देब्रे नलीखुट्टा निकै बाङ्गो थियो। मैले केही सोधेकै थिइनँ। उसले भनेकी थिई — लोग्नेले चिर्पटले हिर्काएर भाँचिदिएको।

म थप स्तब्ध भएको थिएँ। र ऊप्रति अघोरै माया लाग्न थालेको थियो। अनि मैले उसलाई सुम्सुम्याएको थिएँ। केशराशी खेलाइदिएको थिएँ। भावनाहरू उर्लेर आएका थिए।

मेरो अनुहारमा उसले एक टकले हेरेकी थिई र भनेकी थिई-क्रिस! तिमीलाई लागिरहेको होला कि मेरा भौतिक समस्या समाधान गर्ने स्वार्थ लिएर म तिमीसमक्ष आएकी हुँ। वास्तवमा बस्ने छत, खाने सामल, सोसल सिक्योरिटी, ड्राइभिङ लाइसेन्स र एउटा जागिरका लागि म तिमीसमक्ष आएकी होइन।

हुनत मेरा भौतिक समस्या सिकागोमा समाधान भएको भए यहाँ आउने पनि थिइनँ होला सायद। तथापि केही न केही गरी ती समस्याहरू समाधान भइहाल्थे। ती समस्याको समाधान गर्ने गौण कुरा हो। खास कुरा चाहिँ तिमी यौनका ममलामा अलि उदार र सक्षम छौ भन्ने कुरा लिम्बुनी दिदीले भनेको हुनाले तिमीप्रति आकर्षित भएकी हुँ। एक पल्टको जुनी हो। मर्दामर्दै बाँच्नुभन्दा उफ्रिउफ्री बाँच्नु श्रेयस्कर हो भन्ने ठानेकी छु मैले।

हामी दुई जोईपोइ जस्तै भएर बसेका थियौँ । नेपालीहरूका पर्वमा हामी जोईपोइकै रूपमा उपस्थित हुन्थ्यौँ। अमेरिकी समाजलाई त्यो कुराको मतलब पनि हुन्नथ्यो। तर अमेरिकामा पनि कुरौटे नेपाली समाज थियो।

आफ्नो खाएर अर्काको उछित्तो काढ्ने प्रवृत्ति हावी थियो। हाम्रो कुरा खुलेआम काट्दथे। तर हामीले त्यसलाई केही मतलब गरेका पनि थिएनौँ। अझ ऊ त नेपाली मान्छेले देख्ने गरी मेरो गालामा म्वाइँ पो खाइदिन्थी।

र भन्थी नेपाली जगत् कुरा काटेरै अघाओस्। काग कराउँदै गर्छ पिना सुक्दै गर्छ। यो जिन्दगी हाम्रो आफ्नो हो। कसैलाई खसखस लागे लागोस्, नलागे पनि ठिकै छ।

म पन्द्रौँ वर्षदेखि नेपाल गएको थिइनँ। एकप्रकारले भन्ने हो भने मैले नेपाललाई माया मारेको थिएँ। ऊ मलाई बारम्बार सम्झाउँथी—के भनेको तिमीले? आफ्नो देश र आफ्नी आमा कहिल्यै बिराना हुँदैनन्। तिमी नेपाल जाऊ र सबैसँग पूर्ववत सम्बन्ध स्थापना गर।

एकपल्ट सोच-तिम्रा बृद्ध भएका आमाबाबुको अवस्था के होला? फेरि गहिरिएर सोच-तिम्रो सिँदुर सिउँदोमा लगाएर बसेकी त्यो परम्परागत गृहिणीको सोच लिएर बसेकी तिम्री स्वास्नीको हालत तथा मनोदशा के होला? बाबुको आडभरोसा नपाएका तिम्रा छोराछोरीको मनोदशा के होला? तिनमा के प्रभाव परेको होला?

हेर्दाहेर्दै ऊ मेरो अभिभावक भैसकेकी थिई। मेरा जीवनका निर्णयहरू उही गर्न थालेकी थिई। ऊबिना म अधुरो हुन थालेको थिएँ। ऊ गुम्ने कल्पनाले म त्रसित थिएँ। कारण थियो यौन। उसको यौनप्रतिको धारणा र कर्म। यौनसँग कुनै ब्लयाकमेलिङ नगर्ने उसको स्वभाव।

एकदिन मैले उसलाई भनेको थिएँ-देवयानी! एउटा कुरा दिमागमा आइरहेको छ। म मेरी श्रीमतीलाई पारपाचुके गर्छु। तिमी तिम्रो लोग्नेलाई पारपाचुके गर। औपचारिक रूपमा हामी लोग्नेस्वास्नी भएर बसौँ हुन्न?

उसले तुरुन्त उत्तर दिएकी थिई—हुन्न। मेरो लोग्ने जस्तो भए पनि छ। छोराछोरी छन्। तिनले अमेरिका आएर आमासँग बस्ने इच्छा गरेका छन्। माया छ। आमाको ममता छ।

तिम्रा पनि श्रीमती तिम्रा छोराछोरीलाई स्याहार गरेर ‘कहिले लोग्नेले अमेरिकामा बोलाउँछ र जाऊँ’ भनेर बसेका छन्। तिनको तिमीप्रति भरोसा छ। एउटी महिलाको जीवन छ। त्यसैले त्यो कुरा हुन्न। जबसम्म तिम्रा मेरा जहान छोराछोरी आउन्नन् तबसम्म हामी सँगै छौँ। आएपछि आआफ्ना बाटो लाग्नु पर्छ। बितेको समय फर्कन्न नि । दिमागमा त्यस्तो नसोच।

उसले हिजो मात्र मलाई भनी-म यो अमेरिकी संसारमा आफैँ गरेर खानसक्ने भएकी छु। अब मलाई अमेरिकामा बाँच्न कुनै लोग्नेको बैसाखी चाहिन्न। लोग्ने नामको त्यो पत्रुलाई पनि अमेरिका बोलाउन कागज मिलाइसकेकी छु। छोराछोरीहरू पनि अमेरिका आउँदैछन्। तिम्रा स्वास्नी तथा छोराछोरी पनि आउने भएका छन्। कागज मिलिसकेको छ। नेपाली परम्परामा लोग्ने जति जोईले भए पनि स्वास्नीले माफ गर्छन्।

त्यसकारण तिमीलाई तिम्री स्वास्नीले माफ गर्छिन्। हुनत तिमी बहुगामी हौ। तर तिम्री स्वास्नीले तिम्रो मेरो यो सम्बन्ध थाहा पाएका दिन मलाई सौताको व्यवहार गर्ने छिन्। अर्कोतिर म तिमीसँग बसेको कुरा मेरा लोग्नेले एकदिन थाहा पाउँछन्। र, तिनले मलाई माफ गर्ने छैनन्।

मैले ऊसँग बस्न हुन्न। यसकारण पनि मैले तिमीबाट सदाको लागि छुट्टिन पर्छ। तर एउटा कुरा जानी राख कि नीलो सिनेमादेखि लोग्नेका कुटाइसम्म, नजरको डामदेखि कर्मको कामसम्म, नेपालदेखि अमेरिकासम्म, तिमीसँग र तिमीपछि आउने सबै कुराहरू यौनले तय गरेको हुन्छ। यौन प्रधान कुरा हो।

म रोइरहेको छु। ‘नजाऊ’ भन्छु ।

तर जाँदाजाँदै याने कि लगेज डोर्याउँदै उसले भनेकी छे – क्रिस! यो जिन्दगी एउटा कथा हो। कथाभित्रको उपकथा हो। उपकथाहरूमा आउने ट्विस्टले बेरिएको छ जिन्दगी। तर हामी उपकथालाई कथा भनिठान्छौँ। कथालाई सत्य भनिठान्छौँ।

खासमा तिमी हामी उपकथाका बेसाहा पात्र हौँ। तिम्रो लागि म बेसाहा हुँ। मेरा लागि तिमी बेसाहा हौँ। सम्बन्ध भनेको पनि बेसाहा नै हो। लेन र देन। त्यसैले यी सम्बन्धहरू न सस्ता छन्। न महँगा छन्। केवल हामी यसलाई सस्तो र महँगोमा रूपान्तरण गर्छौ। र, सस्तो भए पनि दुखी हुन्छौँ। महँगो भए पनि दुखी हुन्छौँ।

म अत्यन्त भावुक भएको छु। ऊ जाँदैछे। अनि मैले रुँदै भनेको छु- देवयानी! एकपल्ट सोच न। के हामी पूर्ववत सँगै बस्न सक्दैनौँ?
उसले दार्शनिक उत्तर दिएकी छे-मरेर जाने जुनी हो। थाहा छ कि यो जीवनका कृत्य मिथ्या हुन्।

तर यही मिथ्याभित्र रुँमलिएर, गाँजिएर तथा स्वादिलो मानेर जीवन कटाउनु पर्छ। हो हामीले फेरि त्यही मिथ्या संसारमा बाँच्नु पर्छ। मन लागे पनि बाँच्नु पर्छ। मन नलागे पनि बाँच्नु पर्छ। एउटा मिथ्या त्याग्यौ भने पनि अर्को मिथ्या तिम्रा सामुन्नेमा हुन्छ। त्यही मिथ्या अपनाउनु न हो जिन्दगी।

एयरपोर्टमा छुट्टिने बेलामा ऊ भन्दै छे-विचार त तिम्रो हो। तिम्रो कुरा। तर यो चाँहि सत्य हो कि तिम्रा र मेरा बिचको एउटा आकस्मिक दृश्यको पटाक्षेप भएको छ। एउटा रमाइलो मिथ्या उपकथा सकिएको छ। अब अर्को मिथ्या उपकथाको सँघारमा छु। जाँदाजाँदै तिमीलाई भन्छु कि तिम्री स्वास्नी तिम्रा सन्तानकी आमा बन्न मात्र तिमीसँग आएकी होइनन्। नेपालमै बस्ता पनि उनी तिम्रा सन्तानकी आमा भइसकेकी थिइन्।

उनीमाथि लोग्ने हुनुको रबाफ देखाउनुभन्दा पहिले लोग्नेको कामकर्तव्यका बारेमा पनि सम्झ। बुझ। नत्र मैलेझैँ बेसाहा लोग्ने खोज्नु पर्ला तिम्री स्वास्नीले पनि। नेपाल जस्तो होइन नि अमेरिका। बाइ ! म त गएँ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *