नेपाल-भारतका परराष्ट्र सचिवबीच सीमा विवाददेखि थप हवाई प्रवेश मार्ग सम्मका विषयमा छलफल
काठमाडौं। परराष्ट्र सचिव भरतराज पौड्याल र उनका भारतीय समकक्षी विनयमोहन क्वात्राबीच आज यहाँ भएको द्विपक्षीय भेटवार्तामा महत्वपूर्ण छलफल भएको छ।
भेटका क्रममा दुई परराष्ट्र सचिवले नेपाल–भारत सम्बन्धका विभिन्न पक्षमा कनेक्टिभिटी, व्यापार तथा पारवहन, विद्युत् क्षेत्रमा सहकार्य, कृषि, शिक्षा, संस्कृति, स्वास्थ्य क्षेत्र र जनस्तरको सम्बन्धलगायतका विषयमा छलफल गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
सो अवसरमा दुवै पक्षले रेलमार्ग, प्रसारण लाइन, पुल र आईसीपीजस्ता कनेक्टिभिटी परियोजनाहरूमा भएको प्रगतिको सन्तोषजनक समीक्षा गरेका थिए।
नेपालका परराष्ट्र सचिव पौड्यालले रासायनिक मलको आपूर्ति, खाद्यान्न निर्यातको प्रतिबन्ध खुकुलो पार्ने र डायलासिस मेसिन उपलब्ध गराएकामा भारत सरकारलाई धन्यवाद दिएका थिए।
दुवै पक्षले पारवहन सन्धिको नवीकरण, व्यापार सन्धिको समीक्षा र व्यापारसम्बन्धी अन्तर–सरकारी समिति (आईजीसी) चाँडै नै बोलाउने विषयमा छलफल गरेका थिए।
बैठकमा विनिमय बजारका सबै उत्पादनको उपयोग गरी दीर्घकालीन आधारमा नेपालबाट भारतमा विद्युत् निर्यात गर्न दिने प्रतिबद्धता व्यक्त गरिएको थियो।
दुबै पक्षबीच सीमापार प्रसारण लाइनको प्राविधिक स्तरोन्नति र प्रस्तावित चार प्रसारण लाइन आयोजनाको प्रारम्भिक स्वीकृतिबारे पनि छलफल भएको थियो।
परराष्ट्र सचिव पौड्यालले थप हवाई प्रवेश मार्गका साथै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिकको सीमा उडान गर्न चाँडो सहमतिका लागि नेपाल सरकारको आग्रह दोहोर्याएका थिए।
दुई परराष्ट्र सचिवबीच सीमा विवादका विषयमा पनि छलफल भएको थियो। यस सम्बन्धमा उनीहरूले स्थापित द्विपक्षीय संयन्त्रमार्फत बाँकी रहेका खण्डहरूमा सीमा नाकाको काम पूरा गर्ने विषयमा विचार आदानप्रदान गरेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
उनीहरुले दुई देशका विदेश सेवा प्रज्ञा प्रतिष्ठानबीचको एमओयूलाई अन्तिम रूप दिन पनि सहमति जनाएका छन्। दुई छिमेकीबीचको घनिष्ठ र बहुआयामिक सम्बन्धलाई झल्काउने मित्रता र सौहार्दपूर्ण वातावरणमा उक्त भेटवार्ता भएको थियो।
परराष्ट्र सचिव पौड्यालले नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव र उनको प्रतिनिधिमण्डलका सदस्यहरूको सम्मानमा दिवाभोजको आयोजना गरेका थिए।
परराष्ट्र सचिव पौड्यालको निमन्त्रणामा दुई दिने नेपाल भ्रमणका लागि आज काठमाडौँ आएका विदेश सचिव क्वात्राले आजै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्रमन्त्री डा विमला राई पौड्यालसँग छुट्टाछुट्टै शिष्टचार भेटवार्ता गरेका थिए।
साथै उनले नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।







डिसी नेपाल







Facebook Comment