केपिलासगढी गाउँपालिकामा ३७ प्रतिशत वजेट खर्च
खोटाङ। खोटाङको केपिलासगढी गाउँपालिकाले सात महिनामा ३७ प्रतिशत वजेट खर्च गरेको छ। गाउँपालिकाले माघ मसान्तसम्ममा कूल वजेटको ३७.८२ प्रतिशत वजेट खर्च गरेको हो।
गाउँसभा तथा हिउँदे गाउँसभामा गाउँपालिकाको कूल वजेट ४५ करोड ९४ लाख ३४ हजार ७०९ रुपैयाँमध्ये १७ करोड ३७ लाख ६७ हजार ७१४ रुपैयाँ बजेट खर्च भएको जानकारी दिइएको छ।
गाउँपालिकाले चालू आर्थिक वर्ष २०७९/०८० को माघ मसान्तसम्म चालुतर्फ ४५.०८ प्रतिशत र पुँजीगततर्फ २२.७३ प्रतिशत रकम खर्च गरेको लेखापाल राजकुमार खत्रीले जानकारी दिए।
यस्तै, माघ मसान्तसम्म प्रक्षेपित राजश्वमध्ये ७४.४७ प्रतिशत राजश्व संकलन भएको गाउँपालिकाले जनाएको छ। साउनदेखि माघ मसान्तसम्म गाउँपालिकाले ६७.८३ प्रतिशत योजना सम्झौता गरेको र १०.०५ प्रतिशत योजना फछ्र्यौट गरिसकेको योजना शाखा प्रमुख सन्तोष राईले जानकारी गराए।
गाउँसभाले बर्खे अधिवेशनपछि प्रदेश सरकारबाट प्राप्त छ वटा र संघीय सरकारबाट प्राप्त तीन वटा कार्यक्रमलाई वार्षिक वजेटमा समावेश गरेको छ।
वडाबाट संशोधन भएर आएका सम्पूर्ण कार्यक्रमलाई गाउँसभाबाट अनुमोदन गरिएको गाउँपालिका अध्यक्ष समिर राईले बताए। गाउँसभाले केही पालिका स्तरीय कार्यक्रमलाई पनि संशोधन गरेर नयाँ थप कार्यक्रम बनाएको छ।







डिसी नेपाल







Facebook Comment