गण्डकी प्रदेश वृत्तचित्र सार्वजनिक
काठमाडौं। नेपाललाई ‘फिल्मिङ् डेस्टिनेशन’को रुपमा प्रवर्द्धन गर्ने उद्देश्यसहित तयार भएको गण्डकी प्रदेशको वृत्तचित्र सार्वजनिक भएको छ।
फिल्म छायांकनको लागि खुल्ला स्टुडियोको रुपमा नेपाललाई प्रवद्र्धन गर्ने हेतुले श्रव्यदृश्य सामग्री निर्माणको पहिलो चरणमा यो वृत्तचित्र सार्वजनिक गरिएको हो।
करिब १० मिनेट लम्बाई रहेको यस वृत्तचित्रमा गण्डकीका केही प्रमुख छायांकन सम्भावित स्थलहरु समेटिएको छ। यो वृत्तचित्र सुयोग गुरुङले निर्देशन गरेका हुन्।
प्रविधिको बढ्दो प्रयोगसँगै श्रव्यदृश्य सामग्रीमार्फत पनि प्रचारप्रसार हुनुपर्ने आवश्यकता महशुस गरी बोर्डले वृत्तचित्र निर्माण गरी पछिल्लो समय संयुक्त अरब ईमिरेट्समा भएको ’नेपाल चलचित्र फेस्ट’मा प्रदर्शन गरिएको थियो।
बोर्ड अध्यक्ष भुवन केसीले यसप्रकारले सातै प्रदेशमा रहेका छायांकन सम्भावित क्षेत्रहरुलाई समेटेर श्रव्यदृश्य सामग्री बनाउँदै जाने बताए।
‘यस प्रकृतिका सामग्रीहरु बोर्डले निरन्तर बनाउँदै विश्वव्यापी पुर्याउनेछ। नेपाललाई राष्ट्रिय तथा अन्तराष्ट्रिय चलचित्र छायांकनको लागि खुल्ला स्टुडियोको रुपमा विश्वव्यापी प्रवद्र्धन गर्ने योजनाअनुरुप हालको लागि गण्डकी प्रदेशमा रहेका केहि प्रमूख छायांकनस्थलहरु समेटिएको वृत्तचित्र सार्वजनिक गरेका हौँ,’ उनले भने।
नेपालमा चलचित्र क्षेत्रको विकास र प्रवद्र्धनमा सरकारको गहिरो चासो रहेको र सोही अनुरुप चलचित्र विकास बोर्डले काम गरिरहेको बोर्डका सूचना अधिकारी चिरञ्जीवी गुरागाईंले बताए।
‘बोर्डले स्पष्ट रूपमा नेपालमा चलचित्रको भिन्न पक्षको प्रवद्र्धनमा सहयोग गर्ने वातावरण सिर्जना गरेको छ। नेपालमा नेपाली चलचित्रहरूको मात्र नभई विश्वका ठुला चलचित्र उद्योगहरुमा बनिरहेका चलचित्रहरुको समेत छायांकन हुँदै आएको छ। यसलाई ठुलो संख्यामा विकास गर्ने उद्देश्यस्वरुप प्रवर्द्धनात्मक सामग्रीहरु बोर्डले प्रकाशन तथा निर्माण गर्ने उद्देश्य लिएको छ। यसबाट चलचित्र पर्यटनको उल्लेख्य विकास हुने बिश्वास लिएका छौँ’, गुरागाईंले भने।
बोर्डले गत २०७६ सालमा लोकेशन गाइडको रुपमा विश्वव्यापी प्रयोग हुने उद्देश्यसहित ’फिल्मिङ इन नेपाल-भोल्यूम १’ पुस्तक पनि प्रकाशन भएको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment