न्यायालयको क्षेत्राधिकारमा प्रश्न उठाएकोप्रति बारको ध्यानाकर्षण

डिसी नेपाल
२३ फागुन २०७९ २१:५६
64
Shares

काठमाडौं। नेपाल बार एसोसिएसनले शान्ति प्रक्रियाको समयोचित निरुपण नभइरहेको परिप्रेक्षमा विभिन्न क्षेत्रबाट शान्ति प्रक्रिया एवं सम्बन्धित विषय र न्यायालयको नियमित क्षेत्राधिकार सम्बन्धमा उठिरहेका प्रतिक्रियाका सम्बन्धमा ध्यानाकर्षण भएको जनाएको छ।

बारका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले आज जारी गरेको प्रेस विज्ञप्तिमा आफ्नो कार्य क्षेत्राधिकारअन्तर्गतका विषयमा सरोकारवाला निकायले कार्य गर्ने नै हुँदा सोही विषयलाई लिएर क्षेत्राधिकारको विवाद सिर्जना हुने गरी भ्रमपूर्ण अभिव्यक्ति प्रकाशित भएको पाइएकोमा बारको ध्यानाकर्षण भएको उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, “सङ्क्रमणकालीन न्याय निरुपण गर्न गठित आयोग एवं न्यायिक निकायले आ–आफ्नो दायित्व निर्वाह गरी कार्यसम्पादन गर्ने नै हुँदा ती निकायलाई प्रभावित हुने गरी यस किसिमका गतिविधि नगर्न÷नगराउनु हुनसमेत नेपाल बार एसोसिएसन सबैमा आह्वान गर्दछ।”

शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने उद्देश्यले विगतमा भएको विस्तृत शान्ति सम्झौता, नेपालको संविधान तथा गठित सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको काम, कर्तव्य र क्षेत्राधिकार उल्लेख भई दुवै आयोगले आफ्नो क्षेत्राधिकारअन्तर्गतका कार्य आइरहेको अवस्थामा शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउने र पीडितलाई उचित न्याय प्रदान गर्न सरकार र गठित आयोग नै जिम्मेवार हुन जरुरी भएको बारको ठहर छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *