बाढी प्रभावितको स्वास्थ्य अवस्था बुझ्न मन्त्री तिमिल्सिना उद्धारस्थलमा

डिसी नेपाल
११ भदौ २०८३ ९:२८

नुवाकोट। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढीबाट उद्धार गरिएका घाइते तथा प्रभावित नागरिकको स्वास्थ्य अवस्था र सम्पर्कविहीन व्यक्तिका परिवारजनको अवस्थाबारे जानकारी लिएका छन्।

रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीका कारण जोखिममा परेका तथा घाइते भएका नागरिकलाई उद्धार गरी नेपाली सेना, श्री नं. १ तालिम केन्द्र त्रिशूलीमा ल्याइएको छ। मन्त्री तिमिल्सिनाले उद्धारस्थलमा पुगेर त्यहाँ रहेका घाइते तथा प्रभावितसँग भेटघाट गर्दै उनीहरूको स्वास्थ्य अवस्था र आवश्यकताबारे जानकारी लिएका हुन्।

उनले बाढीका कारण बेपत्ता भएका व्यक्तिका परिवारजनसँग समेत भेट गरी उनीहरूको अवस्था र खोजी कार्यबारे जानकारी लिएका छन्। प्रभावित नागरिकलाई तत्काल आवश्यक स्वास्थ्य उपचार, राहत तथा अन्य सहयोग उपलब्ध गराउन सरकार गम्भीर रहेको मन्त्री तिमिल्सिनाले बताए।

मन्त्री तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र राहत कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउँदै आवश्यकताअनुसार उद्धार तथा राहत अभियानलाई थप प्रभावकारी बनाइने जानकारी दिए।

भोटेकोशीमा आएको बाढीका कारण रसुवासहित आसपासका जिल्लामा ठूलो जनधनको क्षति भएको छ। बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सुरक्षा निकाय उद्धार तथा राहत कार्यमा परिचालित छन्। प्रभावित र जोखिममा रहेका नागरिकको उद्धारलाई तीव्रता दिँदै आवश्यक राहत तथा उपचारको व्यवस्था मिलाउने काम भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *