भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त
काठमाडौँ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा बुधबार आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।
बाढीका कारण ठूलो मानवीय क्षति हुनुका साथै धेरै मानिसको ज्यान गएको, केही बेपत्ता भएको र विभिन्न क्षेत्रमा व्यापक भौतिक क्षति पुगेकोप्रति गुटेरेसले दुःख व्यक्त गरेका हुन्। उनका प्रवक्ताले जारी गरेको वक्तव्यमा बाढीबाट प्रभावितप्रति महासचिव गुटेरेसले ऐक्यबद्धता जनाउँदै मृतकका परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको उल्लेख छ।
उनले बाढीमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित समुदायप्रति संयुक्त राष्ट्रसंघको साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपालमा बाढीबाट परेको प्रभावको स्तर मूल्याङ्कन गर्न तथा तत्काल आवश्यक सहायता उपलब्ध गराउन संयुक्त राष्ट्रसंघले सरकारको नेतृत्वमा भइरहेको विपद् प्रतिकार्यमा सहयोग गरिरहेको वक्तव्यमा जनाइएको छ।
बाढी प्रभावित समुदायलाई आवश्यक सहयोग उपलब्ध गराउन संयुक्त राष्ट्रसंघका टोली तथा मानवीय सहायता साझेदारहरूले आवश्यक सामग्री र जनशक्ति परिचालन गरिरहेको पनि महासचिव गुटेरेसले बताएका छन्।
यसैगरी, बाढी प्रभावित क्षेत्रमा जीवन बचाउन तथा उद्धार कार्यमा खटिएका आपत्कालीन उद्धारकर्मीहरूको उनले प्रशंसा गरेका छन्। विपद्का कारण प्रभावित भएका समुदायलाई थप सहयोग आवश्यक परे संयुक्त राष्ट्रसंघ त्यसका लागि तयार रहेको गुटेरेसले दोहोर्याएका छन्।
नेपाल र चीनमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएपछि उद्धार, राहत तथा पुनःस्थापनाका लागि स्थानीय तथा राष्ट्रिय निकायसँगै विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूले समेत सहयोग र समन्वय गरिरहेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment