राष्ट्रपति निर्वाचनमा एक हजार सुरक्षाकर्मी खटिने, फरार सूचीमा रहेका सांसद निगरानीमा

डिसी नेपाल
२४ फागुन २०७९ १९:४७
164
Shares

काठमाडौँ। मुलुकको चौथौ राष्ट्रपति निर्वाचनका लागि आवश्यक सुरक्षा तयारी पूरा भएको र त्यसका लागि करिब १ हजार सुरक्षाकर्मी खटिने भएका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले मतदान केन्द्र, मतदाताको सुरक्षा, मतपेटिका, मतदान सामग्रीदेखि मतगणना स्थलको सुरक्षाको तयारी पूरा भएको जनाउदै सबै सुरक्षा व्यवस्था चुस्तदुरुस्त राख्नका लागि करिक एक हजार सुरक्षाकर्मी खटिने बताएका हुन्।

मतदान केन्द्र र मतदानस्थलमा बाधा अवरोध नहोस् भन्नका लागि नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा प्रवेश गर्ने क्षेत्रमा काठमाडौ उपत्यकामा रहेका सबै सिनियर प्रहरी अधिकारीहरुको कमाण्डमा सुरक्षाकर्मी खटिने भएका छन्।

उनले मतदानस्थलमा फरार सूचीमा रहेका सांसदहरुको पनि निगरानी गरिने जानकारी दिदै त्यस्ता सांसद देखिएमा प्रहरीले तत्कालै एक्सन लिने समेत जानकारी गराए। ‘हामी फरार सूचीमा रहेका मतदाताहरुको पनि निगरानीमा छौ’, एसएसपी कार्कीले भने।

सांसदहरु नै मतदाता भएकाले धेरै कठिन हुने भएपनि सुरक्षाको आवश्यक सबै व्यवस्था गरेको दाबी गरे।

‘निर्वाचन आयोगले तोकेको क्षेत्रमा सुरक्षा मिलाउने, मतपेटिकाको सुरक्षा, मतदान सामग्रीको सुरक्षा, लाइनको व्यवस्थापन, कुनै पनि प्रज्वलनशील पदार्थ तथा मोबाइल र क्यामेरा लान नदिनेगरी सुरक्षा व्यवस्था गरिएको छ’, एसएसपी कार्कीले भने।

राष्ट्रपति चयनका लागि बिहीबार बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ। राष्ट्रपति पदका लागि एमालेबाट सुवासचन्द्र नेम्वाङ र कांग्रेसबाट रामचन्द्र पौडेल उम्मेदवार भएका छन्। राष्ट्रपति निर्वाचनपछि विहिबार नै मतपरिणाम सार्वजनिक गरिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *