जसपाबाट उपराष्ट्रपतिका उम्मेदवार रामसहाय यादव, चुनाव हारेका उपेन्द्र मन्त्री बन्ने दाउमा
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालले संसदीय दलको नेता रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ।
आज बसेको कार्यकारिणी समितिको बैठकले यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको जसपाका एक नेताले बताए।
सत्ता गठबन्धनमा जसपाले उपराष्ट्रपति पाउने सहमति बनेको थियो। गठबन्धनको तर्फबाट राष्ट्रपतिमा कांग्रेसका रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन्।
कांग्रेस, माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाले पौडेलको पक्षमा मतदान गरेका थिए।
योसँगै गएको निर्वाचनमा सप्तरी क्षेत्र नम्बर २ बाट जनमत पार्टीका अध्यक्ष सिके राउतसँग दोब्बरभन्दा धेरै मतान्तरले पराजित भएका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सांसद बन्दै मन्त्री बन्ने खेल सुरु भएको छ।
यसका लागि उनले उपराष्ट्रपति पदलाई हतियार बनाउने भएका छन्। यादवले आफू पक्षीय नेता रामसहाय यादवलाई संसदीय दलको नेतामा समेत सर्वसम्मत गराएका थिए।
रामसहाय उपराष्ट्रपति बनेर गएपछि उनले सांसद पदबाट राजीनामा दिनुपर्नेछ। उनले राजीनामा दिएसँगै बारा २ को प्रतिनिधि सभाको सिट रिक्त हुनेछ।
रिक्त पदपूर्तिका लागि यहाँ उपनिर्वाचन गर्नुपर्नेछ र यही सिटबाट आफूले चुनाब जितेर सांसद बन्ने उपेन्द्र यादवको योजना रहेको स्रोत बताउँछ। यहाँबाट यादवले जितेसँगै उनकै नेतृत्वमा पार्टी सरकारमा जाने योजना रहेको स्रोतले बतायो।







डिसी नेपाल







Facebook Comment