नवनिर्वाचित राष्ट्रपति पौडेल निवासमा बधाई दिनेहरूको भीड

डिसी नेपाल
२५ फागुन २०७९ २१:५४
224
Shares

काठमाडौं। मुलुकको तेस्रो राष्ट्रपतिमा निर्वाचित पूर्वसभामुख रामचन्द्र पौडेलको बोहोराटारस्थित निवासमा बधाई तथा शुभकामना दिनेहरूको भीड लागेको छ। राष्ट्रपति पौडेललाई बधाई दिन उल्लेख्य सङ्ख्यामा आफन्त, नेता कार्यकर्ता एवं शुभेच्छुकहरूको भीड लागेको हो।

राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेल सङ्घीय संसद् भवनबाट निवास बोहोराटार पुगेका थिए। पौडेल निवास पुग्नासाथ बटुकहरूले स्वस्ति वाचन गरेर स्वागत गरेका थिए। घरपरिवार आफन्तले सगुनका साथ फूलमाला, खादा र अबिर लगाएर बधाई दिँदै खुसी साटेका थिए।

निवास परिसरमा जम्मा भएको भीडले पौडेल निवास उल्लासमय बनेको छ। रङ्गीचङ्गी बत्तीको झिलिमिलीले पौडेलको घर सिँगारिएको छ। बधाई दिने र आपसमा खुसी साट्नेहरूको चहलपहलले बेग्लै रौनक थपेको छ। उपस्थित अधिकांश फोटो र सेल्फी लिन भ्याइनभ्याइ देखिन्थे।

खुसियाली र स्वागत

राष्ट्रपति पौडेल निवासमा आज राति अबेरसम्म बधाई तथा शुभकामना दिने र खुसी आदनप्रदान चल्ने जनाइएको छ। निवासमा नेता कार्यकर्ता र आफन्तको भीड छ। जिल्लावासीहरूको पनि उत्तिकै बाक्लो उपस्थिति रहेको छ। उपस्थित अधिकांशले ‘रामचन्द्र पौडेल जिन्दावाद’ को नारा समेत लगाएका थिए।

यसअघि राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेललाई संसद् भवनको ल्होत्से हलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले बधाई दिए।

जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउत, नागरिक उन्मिुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायतले पनि उनलाई बधाई तथा शुभकामना दिएका थिए।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति निर्वाचित भएको प्रमाणपत्र राष्ट्रपति पौडेललाई दिएका थिए। उल्लेख्य सङ्ख्यामा उपस्थित विभिन्न राजनीतिक दलका नेता, सांसद, विभिन्न निकायका उच्च अधिकारी, नेता कार्यकर्ता, शुभेच्छुकलगायतले राष्ट्रपति पौडेललाई माला, खादा पहिराएर शुभकामना तथा बधाई दिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *