के गर्दैछ राप्रपा नेपाल?
काठमाडौं। २०७८ मंसिरमा सम्पन्न महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि आफ्नो पराजयमा निर्मल निवासको हात रहेको भन्दै राप्रपाबाट अलग भएका कमल थापा मंसिरमा सम्पन्न संसदीय निर्वाचनमा मक्वानपुरबाट पराजित बने।
सधैं पार्टी राजनीतिको केन्द्रमा रहेका थापा महाधिवेशनमा लिङ्देनसँग पराजित बनेसँगै राजनीतिमा ओझेलमा परेका छन्। पूर्व राजाले आफूलाई हराएको आरोप लगाएर राप्रपाबाट अलग भएका थापाले वर्षौंदेखि अंगाल्दै आएको संवैधानिक राजतन्त्रको मुद्दासमेत छोडेका छन्। उनले नेपाललाई हिन्दु राज्य बनाउने मुद्दा भने छोडेका छैनन्।
पाँच वर्ष अगाडिको निर्वाचनमा आफूसमेत पराजित बनेका थापाले राप्रपालाई राष्ट्रिय दलको मान्यता दिलाउन समेत सकेका थिएनन्। सत्ता केन्द्रित राजनीति गरेको आरोप लागेका थापाले राप्रपा नेपाल गठन गरेपछि उनको शक्ति कमजोर बनेको छ। नेकपा एमालेको सूर्य चिन्ह लिएर चुनाव लड्दासमेत थापाले जित निकाल्न सकेनन्।
उनी राप्रपाबाट अलग भएपछि लिङ्देन नेतृत्वमा चुनावमा होमिएको राप्रपा अहिले मुलुकको पाँचौं शक्ति बनेको छ। तर कमल थापा यतिबेला ‘गुमनाम’ जस्तै बनेका छन्।
सामाजिक सञ्जालमा भने थापा सक्रिय छन्। उनी समसामयिक राजनीतिक विषयमा सामाजिक सञ्जालमा टिप्पणी गरिरहन्छन्।राप्रपा नेपाल गठन गरेका थापा यतिबेला संगठन सुदृढिकरण अभियानमा सक्रिय रहेको महामन्त्री राजाराम बर्तौला बताउँछन्।
माघमा बसेको राप्रपा नेपालको केन्द्रीय समिति बैठकले ‘राप्रपा नेपाललाई फेरि उठाउँछौं’ भन्ने संकल्प पारित गरेको थियो। अहिले राप्रपा नेपाल सोही अभियानमा रहेको महामन्त्री बर्तौलाको भनाइ छ।
राप्रपा नेपालले २०८० साल फागुन ७ गते महाधिवेशन गर्ने निर्णय गरेको छ। महधिवेशन अघि नगर, क्षेत्र, जिल्लाको महाधिवेशन गर्ने कामको सुरुवाती चरणमा आफूहरु रहेको राप्रपा नेपालले जनाएको छ। यतिबेला काठमाडौं उपत्यका केन्द्रित संगठन सुढृढीकरण अभियानमा राप्रपा नेपाल केन्द्रित छ।
भातृ संगठन र जनवर्गीय संगठनलाई पूर्णता दिन काम सुरु भएको र एक वर्ष पछि हुने महाधिवेशनबाट संगठन र संघर्षलाई सँगै लैजाने गरी रणनीति बनाइरहेको महामन्त्री बर्तौला बताउँछन्।
राजनीतिक रुपमा कमजोर बन्दा आफ्नो शक्ति गुमाएका अध्यक्ष थापाले विचार मिल्ने राजनीतिक दल र समूहसँग एकता गर्न उपाध्यक्ष श्याम तिमल्सेनाको संयोजकत्वमा वार्ता टोली गठन गरेका छन्। सो वार्ता टोलीले निर्वाचन आयोगमा दर्ता भएका विचार मिल्ने राजनीतिक दल र समूहसँग पहिलो चरणमा वार्ता भइसकेको बताइएको छ।







डिसी नेपाल







Facebook Comment