चितवन- २ मा रवि विरुद्ध उम्मेदवारी दिन तम्सिँदै दलहरु

डिसी नेपाल
२ चैत २०७९ ११:३६
144
Shares

काठमाडौं। वैशाख १० गते चितवन २ मा हुन गइरहेको उपनिर्वाचनमा उम्मेदवारी चयनको रस्साकस्सी चलिरहेको छ। सत्तारुढ तथा प्रतिपक्षी दलहरु उम्मेदवारी चयनको गृहकार्यमा जुटिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन केन्द्रित गतिविधिमा होमिएको छ।

गत मंसिर ४ मा सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित भएका थिए। सर्वोच्चले लामिछानेको नागरिकता अवैध ठहर गरेसँगै सम्पूर्ण पदमुक्त भएपछि रिक्त रहेको उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।

अहिले सोही निर्वाचन क्षेत्रबाट रास्वपाका सभापति लामिछाने उनको पार्टीबाट निर्विकल्प उम्मेदवारको रुपमा खडा भएका छन्। उनको विरुद्धमा उम्मेदवारी दिन सत्तारुढ दलले साझा उम्मेदवार उठाउने तयारी गरेका छन्।

भर्खरै प्रतिपक्षी कित्तामा पुगेको एमाले पनि उम्मेदवार छनोटको तयारीमा लागेको छ। यसअघि एमालेबाट उम्मेदवारी दिएर पराजित भएका कृष्णभक्त पोखरेलको चर्चा चुलिएपनि उनी उम्मेदवारी दिन अनिच्छुक भएको बताइन्छ।

गएको निर्वाचनमा दोस्रो स्थानमा रहेका कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठ यसपाली फेरि निर्वाचन लड्ने आकांक्षा  देखाएका थिए। उनले केही समय अगाडि लामिछाने नागरिकता प्रकरणमा पदमुक्त भएपछि आफूलाई स्वत विजेता घोषित गर्नुपर्ने माग सहित निर्वाचन आयोगमा निवेदन दिएका थिए। यद्यपि यस पटक निर्वाचन नलड्ने पार्टीमा जानकारी गराएको बताइन्छ।

बुधबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले उम्मेदवार सिफारिस गर्न चितवन जिल्ला कार्य समितिलाई निर्देशन दिइसकेको छ। चितवन जिल्ला समितिलाई उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको प्रबक्ता प्रकाशशरण महतले जानकारी दिए।

जिल्लाबाट गरिएको सिफारिसको आधारमा टुंगो लगाइने उनले बताए। कांग्रेसबाट चितवन जिल्ला रामेश्वर खनाल र पूर्वसभापति जीतनारायण श्रेष्ठले सार्वजनिक रुपमा दाबी गरेका छन्।

एमालेबाट यसअघि उम्मेदवारी दिएर लामिछानेसँग पराजित भएका पोखरेलले उम्मेदवारी नदिने मनशाय ब्यक्त गरेको बताइएको छ। उनले उम्मेदवारी नदिएपछि एमालेले नयाँ उम्मेदवार टुंगो लगाइसकेको छैन।

यसपालीको निर्वाचनमा दलहरु लामिछानेको हाउगुजीले उत्साहप्रद तवरले उम्मेदवारको दाबीसमेत नभएको चर्चा राजनीतिक वृत्तमा ब्याप्त छ। गएको निर्वाचनमा अभूतपूर्व मतले विजयी भएका लामिछाने निर्वाचित भएसँगै सरकारको उपप्रधानमन्त्री तथा गृह मन्त्रीमा आसिन भएका थिए।

तर, सर्वोच्चको संवैधानिक इजलाशले माघ १३ गते उनको नागरिकता निष्क्रय भएको जनाउँदै सबै उपप्रधानमन्त्री र सांसद पद खारेज गरिदिएको थियो।
सोही पूर्ववत साख जोगाउन लामिछाने निर्वाचन लक्षित कार्यक्रम लिएर चितवन-२ पुगिसकेका छन्। उनले यसपाली निर्वाचनमा विगतको साख जोगाएर फेरि उल्लेख्य मतले बाजी मार्ने दाउमा छन्।

गएको निर्वाचनमा रास्वपाका लामिछानले उनका प्रतिस्पर्धीहरुलाई दोब्बर मतले पराजित गरेका थिए। उनले ४९ हजार २६१ मत प्राप्त गर्दा गठबन्धनबाट उम्मेदवारी दिएका कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ मत ल्याएका थिए। एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले १४ हजार ६४९ मत ल्याएका थिए।

गत निर्वाचनको मत परिणाम अनुसार चितवन २मा रविले प्राप्त गरेको मत अन्य उम्मेदवारको भन्दा उल्लेख्य देखिएको छ। यही मतभार उनको पक्षमा यथावत छ, या झनै बढोत्तरी भएको छ। त्यो भने आगामी निर्वाचन परिणामले दर्शाउने छ।

यही गएको निर्वाचनको मतपरिणामले.त्रसिद अन्य दलहरु गएको निर्वाचनको आधारमा उनको बर्चस्व भत्काउने ध्याउन्नमा छन्। रविको गढ भत्काउन अन्य दलहरु उपयुक्त उम्मेदवारको खोजीमा छन्।

यद्यपि लामिछाने नेतृत्वको रास्वपाले सरकारलाई दिएको समर्थन कायम राखेको र राष्ट्रपति निर्वाचनमा पनि सत्ता गठबन्धनका उम्मेदवारलाई मतदान गरेका कारण चुनावी प्रतिश्पर्धामा रवि विरुद्ध उम्मेदवार चयन गर्न सत्ता पक्षलाई केही असजिलो हुने चर्चा चलेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.