सिंहसँगै नौ प्रहरी अधिकृत अवकाशमा, नवनियुक्त आईजीपीले गरे बिदाइ (तस्बिरहरु)
काठमाडौं। नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले आज अवकाशमा जान लागेका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहसहितका प्रहरी अधिकारीलाई बिदाइ गरेका छन्।
प्रहरी प्रधान कार्यलयमा आज अवकाशमा जान लागेका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहसहितका प्रहरी अधिकारीलाई बिदाइ गर्दै उनले अग्रजहरुले गरेको मार्ग–निर्देशन अक्षरश पालना गर्ने र अधुरा रहेका योजनालाई आफूले पूरा गर्ने विश्वास दिलाए।
हालका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहसहित उनका ब्याजी नौ जना प्रहरी अधिकृतहरु आजबाट अनिवार्य अवकाशमा जाँदै छन्।
गत वैशाख १८ मा महानिरीक्षक पदमा पदोन्नति भएका सिंहले झण्डै एक वर्ष महानिरीक्षक भएर सेवा दिए। उनका ब्याचीहरु प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) सहकुलबहादुर थापा, उत्तमराज सुवेदी र दिवेश लोहनी अवकाशमा जाँदै छन्।
आज राति १२ बजेदेखि उनीहरुको कार्यकाल सकिने भएकाले आजैको मन्त्रिपरिषद् बैठकले शनिबारदेखि लागू हुने गरी प्रहरी महानिरीक्षकमा एआइजी वसन्तबहादुर कुँवरलाई बढुवा गर्ने निर्णय गरिसकेको छ। उनीहरुसँगै तीन डिआइजी र दुई एसएसपीले पनि अनिवार्य अवकाश लिँदै छन्।
प्रहरी प्रधान कार्यालयअनुसार प्रहरी नायब महानिरीक्षक (डीआइजी)हरु नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य र मसाउद आलम खाँ तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसएसपी)द्वय उमाशङ्कर पञ्जियार र जनकराज पाण्डे पनि आज राति १२ बजेदेखि लागू हुने गरी अनिवार्य अवकाशमा जाने प्रहरी प्रवक्ता पोषराज पोखरेलले जानकारी दिए।








डिसी नेपाल







Facebook Comment