बारा-२ मा हुने उपनिर्वाचनमा उम्मेदवारको चर्चामा रहेका उपेन्द्र यादव के भन्छन् ?

डिसी नेपाल
१२ चैत २०७९ १३:२६
184
Shares

काठमाडौं। बारा-२ मा हुन लागेको उपनिर्वाचनमा उम्मेदवारको चर्चामा जसपाका अध्यक्ष उपेन्द्र यादव रहेका छन्। यस अघिको निर्वाचनमा सप्तरी–२ बाट पराजित यादव यसपाली उपनिर्वाचनमार्फत संसद छिर्ने दाउमा छन्।

बारा-२ बाट निर्वाचित सांसद रामसहायप्रसाद यादव उपराष्ट्रिपतिमा निर्वाचित भएपछि रिक्त रहेको उक्त क्षेत्रमा यही बैशाख १० गते उपनिर्वाचन हुन लागेको हो।
अध्यक्ष यादवको पुनःसंसद प्रवेशको यात्रालाई सफल बनाउने योजना बमोजिम सोही क्षेत्रबाट निर्वाचित रामसहाय यादवलाई उनकै जोडबलमा उपराष्ट्रपति बनाइएको हो।

मधेश केन्द्रित दलहरुको प्रभाव क्षेत्र रहेको बारामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले समेत उम्मेदवारी दिन लागेको छ। जसपाका अध्यक्ष यादवको विरुद्धमा लोसपाले उपेन्द्र महतोलाई अघि सार्ने तयारी गरेको छ।

मधेशमा नयाँ दलको रुपमा उदाएको जनमत पार्टीले समेत यादव विरोधी कित्ताको रुपमा उभिएको छ। जसपाका अध्यक्ष यादवलाई रोक्न जनमतले लोसापाका उम्मेदवारलाई सहयोग गर्ने उक्त पार्टीका अध्यक्ष सिके राउतले आशय ब्यक्त गरिरहेका छन्।

गत मंसिर ४ को निर्वाचनमा सप्तरी-२ माजनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका यादव यसपाली उपनिर्वाचनमार्फत संसदको यात्रा तय गर्ने दाउमा रहेका छन्। उनले यसपालीको उपनिर्वाचनमा उम्मेदवारी दिने मनशाय प्रकट गर्दै सत्ता गठबन्धनको सहारा खोजिरहेका छन्।

उनले आफ्नो उम्मेदवारी बारे जिल्ला र स्थानीय पार्टीले सिफारिस गर्ने पार्टीको प्रावधान बमोजिम उम्मेदवारी चयन हुने बताउँदै आफ्नो उम्मेदवाीबारे निक्र्योल अझै नभएको बताए।

‘पार्टीको संस्थागत प्रक्रिया अनुसार जिल्लाबाट सिफारिस हुने चरण बाँकी छ अहिल्यै नै म उम्मेदवार हुने यकिन भइसकेको छैन’, उनले डिसी नेपालसँग भने, ‘संस्थागत निर्णय भइसकेको छैन।’

उनले निर्वाचन क्षेत्र हुँदै जिल्लाबाट सिफारिस हुने पार्टीको संस्थागत प्रक्रिया रहेको सोही अनुसार उम्मेदवार चयन हुने बताए। सत्तागठबन्धनमा छलफल भइरहेकाले आफूले उम्मेदवारी दिनेबारे टुंगो नलागेको उनको भनाइ छ।

पार्टीले बारा-२ मा संस्थागत रुपमा उम्मेदवारी छनोटको प्रक्रिया अनुरुप टुंगो लाग्ने उनले जिकिर गरे। सत्ता गठबन्धनमै रहेका अन्य मधेश केन्द्रित दलहरुले उम्मेदवारी दिने बताइरहँदा यादव गठबन्धनकै साझा उम्मेदवार बन्ने प्रयत्न गरिरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.